१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘खुरुक्क झोला बोकेर अदालत जान्छु’

फाइल तस्विर

पछिल्लो चरणमा सुवासचन्द्र नेम्वाङ पार्टीको बैठकमा भन्ने गर्थे, ‘मलाई पार्टीले अनुमति देओस्। म खुरुक्क झोला बोकेर अदालत गइहाल्छु।’ उनी कानुन व्यवसायी पनि मानिन्थे। नेपाल बारको चुनावमा मत दिन्थे। नेम्वाङले पहिलो संविधानसभा विघटनका बेला आफैं सर्वोच्च अदालत पुगेर वकालत गरेका थिए।

कानुनका गुरु मानिने कृष्णप्रसाद भण्डारी सुवासचन्द्र नेम्वाङलाई एक मेधावी कानुन व्यवसायीको रूपमा सम्झन्छन्। नेम्वाङले भण्डारीकै ‘नेपाल ल फर्म’बाट कानुनको सुरुवात गरेका थिए। ‘मेरो ल फर्ममा काम गरेका व्यक्ति प्रधानमन्त्री, मन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश बनेका छन्। नेम्वाङ जस्तो मान्छे पाउन गाह्रो छ,’ वरिष्ठ अधिवक्ता भण्डारीले नागरिकसँग भने।

‘इमानदार, मेहनती, मेधावी व्यक्ति थिए। सुवासले धेरै राजनीतिक, संवैधानिक मुद्दामा वकालत गरेका थिए। तेजस्वी नेम्वाङ हाम्रो ‘नेपाल ल फर्म’को गौरव हुन्। उनी महान हुन्। उनले प्रशस्त मुद्दा लडेका थिए। अहिले सबै याद हुँदैन,’ भण्डारीले भने।

नेम्वाङका धेरै पाटामध्ये एउटा कानुन व्यवसाय हो। उनले सानैदेखि कानुनसँग परिचित हुने मौका पाए। कारण, उनका बुवा लिम्बु जातिका पहिलो जिल्ला न्यायाधीश थिए। सानैदेखि बुवासँग विभिन्न जिल्ला पुगेका उनले कपिलवस्तु, सिन्धुलीलगायत ठाउँ पुगेर पढेका थिए। त्यसैले होला उनको बोलीमा ‘लिम्बु शैली’ थिएन।

नेम्वाङले कानुन पढाएका विद्यार्थी पूर्वमन्त्री अग्नि खरेलका अनुसार जिल्ला न्यायाधीशका छोरा भएर घुमन्ते शिक्षाका कारण उनमा ‘मातृभाषाको शैली’ नआएको हो। उनी गृह जिल्ला इलामबाट एसएलसी सकेर त्रिचन्द्र क्याम्पसमा आइएस्सी पढ्न आएका थिए।

उनी त्रिचन्द्रमा पढ्दा झलनाथ खनालका सहपाठी पनि हुन्। आइएस्सी सकेपछि उनी फेरि इलाम फर्के। २०२८ सालतिर विज्ञान छोडेर इलाममा स्नातक तह पढ्न गएका थिए।

त्यसै क्रममा २०२९ सालमा महेन्द्ररत्न क्याम्पस स्ववियु सभापतिसमेत जितेका नेम्वाङ बिए सकेर काठमाडौं फर्केका थिए। लगत्तै बिए पास गरेर २०३१ सालमा काठमाडौंको ‘नेपाल ल क्याम्पस’मा ‘डिप्लोमा इन ल’ पढ्न थाले।

उनी २०३३ सालमा ल कलेज पढ्दै गर्दा पञ्चायतविरोधी आन्दोलनमा पनि होमिएका थिए। त्यसबेला ‘श्री ५ को सरकारको घुँडा टेकुवा नीति मुर्दावाद’ लेखिएका लिथो पेपरमा पर्चा छापिएका थिए। तत्कालीन समयमा तुलसी गिरी प्रधानमन्त्री थिए।

अनेरास्ववियु लगायत विद्यार्थी संगठन पञ्चायतविरोधी बनेका थिए। नेम्वाङ त्यही पर्चा छर्ने क्रममा पक्राउ परे। उनलाई राजकाज मुद्दा चलाइएको थियो। उनी लगायतलाई थुनामा राखियो। पूर्व महान्यायाधिवक्तासमेत रहेका खरेलका अनुसार क्षेत्रीय अदालतले नेम्वाङलाई तारेखमा छाडेको थियो। त्यो मुद्दा सर्वोच्च पुगेपछि सफाइ भएको थियो।

सुवासचन्द्र नेम्वाङको नाममा मुद्दाको नजिर पनि छ। राजकाज मुद्दामा अञ्चलाधीशले सजाय दिएपछि नेम्वाङले मुद्दा पुनरावेदन गरे। उनीसँगै जेल परेका केही साथीले मुद्दा नलड्ने निर्णय गरे किनकि उनीहरूले कैद सजाय भुक्तान गरिसकेका थिए। त्यो मुद्दामा नेम्वाङले सर्वोच्चमा पुनरावेदन गरेका थिए। त्यस मुद्दामा पुनरावेदन गर्ने व्यक्तिको मात्र नभई पुनरावेदनमा नजानेको पनि मुद्दा उल्टिएको थियो। त्यो एउटा नजिर रहेको खरेल बताउँछन्।

त्यसपछि २०३६ सालतिर नेम्वाङले नेपाल ल कलेज पढाउन थाले। २०३८ सालमा कानुन पढ्न भर्ना भएका अग्नि खरेलका नेम्वाङ गुरु थिए। ल कलेजका पाँच राम्रा शिक्षकमा नेम्वाङ पर्थे। ‘क्रिमिनल ल पढाउनुहुन्थ्यो। उहाँले यसरी पढाउनुहुन्थ्यो कि विद्यार्थी नोट टिप्नै मान्दैनथे। किनकि सुरुदेखि नै भाषाशैली समृद्ध थियो। पढाइन्जेल सुनिरहुँ लाग्थ्यो,’ खरेल सम्झन्छन्, ‘पढाउने शैली अर्थात् वक्तृत्वकलाका कारण विद्यार्थी एक टकले सुनिरहन्थे।’

नेम्वाङले २०५१ सालसम्म कानुन विषय पढाएका थिए। उनी नियमित क्याम्पस पुग्ने शिक्षक, सरल, झर्रो नेपाली भाषाको प्रयोग गर्थे। फौजदारी कानुनका सिद्धान्त, चाखलाग्दो गरी पढाउने नेम्वाङ खरेलका शिक्षक, सार्थीभाइ हुँदै पारिवारिक सम्बन्धमा परिणत भएका हुन्।

२०४२ सालसम्म नेपाल ल फर्ममा काम गरेका नेम्वाङले पछि भरत उप्रेती र वैद्यनाथ उपाध्यायसँग मिलेर ‘पायोनर ल एसोसिएसन’ खोलेका थिए। उप्रेती र उपाध्याय पछि न्यायाधीश भए। २०४१ सालमा नेपाल बार एसोसिएसनको केन्द्रीय सदस्य बनेका थिए।

उनी २०४३ सालमा बारको महासचिव बनेका थिए। खरेलका अनुसार २०४५ सालमा नेपाल बारको राष्ट्रिय सम्मेलनमा उनकै नेतृत्वमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध प्रस्ताव पारित गरेको थियो। तत्कालीन समयमा लक्ष्मण अर्याल अध्यक्ष थिए। अध्यक्षले अडान लिन नसकेपछि नेम्वाङले बहुमत सदस्यको नेतृत्व लिएर पञ्चायतलाई हस्तक्षेप गर्ने विषयमा प्रस्ताव पारित गराउन सफल भएका थिए। ‘नेपाल बारमा हुँदा लोकतन्त्र, प्रजातन्त्रका निम्ति परिचालन गरेका धेरै उदाहरण छन्। सफल वकिल, राम्रो शिक्षक, राजनीतिमा सबैलाई समन्वय गर्ने व्यक्ति हुनुहुन्थ्यो,’ खरेल भन्छन्।

उनले राजाका एडिसी भरत गुरुङको सुन तस्करीसम्बन्धी मुद्दामा उनले वकालत गरेका थिए। त्यसबेला उनलाई धेरैले फिर्ता लिन सुझाएका थिए। फौजदारी मुद्दामा गुरुङको मुद्दा  लड्दा सालिन, भद्र, विनम्र तरिकाले भनेका थिए, ‘म जे हेर्दै छु एउटा वकिलको रूपमा हेर्दै छु। त्यससँग सम्बन्धित वकालत गर्छु। शुद्ध वकिलको रूपमा हेर्छु ।’ नेम्वाङले मुद्दा लिँदा निकै विवाद भएको थियो। उनले कहिल्यै उत्ताउलो जवाफ दिएनन्।

नेम्वाङले आफूलाई लागेपछि प्रस्तुतिमा सालिन बनेरै आफ्नो अडान छोड्दैनथे। २०४५ सालमा दशरथ ‘रंगशाला काण्ड’मा उनले एउटा अडान लिएका थिए। रंगशालामा खेल चलिरहेका बेला हावाहुण्डरी आएको थियो। मुख्य ढोका बन्द भएकाले भागदौड मच्चिँदा ४०/४५ जना मरे। त्यसबेला केशरबहादुर विष्ट शिक्षामन्त्री थिए। उनले राजीनामा दिएका थिए।

बार एसोसिएसनका महासचिव रहेका नेम्वाङले विष्टविरुद्ध बार एसोसिएनको तर्फबाट ज्यान मुद्दा दर्ताको जाहेरी दर्ता गराएका थिए। त्यो विषय पनि विवादित बनेको थियो। कानुन व्यवसायीको संगठन बारले ज्यान मुद्दामा जाहेरी दिने हो वा वकालत? भन्ने प्रश्नसहितको विवाद भएको थियो। त्यसै क्रममा एक उपाध्यक्षले राजीनामा पनि दिएका थिए। त्यसपछि बार विभक्त भएको थियो तर बहुमतले निर्णय गरेर रंगशालाको विषयलाई जाहेरी दर्ता गर्न नेम्वाङ सफल भएका थिए। तर, मुद्दा भने अदालतमा पुग्न सकेन।

उनले त्यो जाहेरीको विषयमा बहुदलीय व्यवस्था आएपछि कानुनमन्त्री भएका खरेलले सोधेका थिए, ‘बारको त्यो काम ठिक थियो,’ नेम्वाङको जवाफ थियो, ‘के खान ठिक हुन्थ्यो? पञ्चायतको कसरी विरोध थियो। पञ्चायत फाल्नु थियो। पञ्चायतको खोट निकाल्नु थियो। व्यवस्था नङयाउनु थियो ।’ 

प्रकाशित: २७ भाद्र २०८० ०१:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App