२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

छिमेकीहरूसँग सन्तुलित कुटनीतिक सम्बन्ध कायम गर्न प्रधानमन्त्रीलाई सुझाव

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन्।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री दाहालले पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेताहरू, पूर्व परराष्ट्रमन्त्रीहरू लगायतसँग छलफल गरेका हुन्।

छलफलमा नेताहरूले छिमेकीहरूसँग सन्तुलित कुटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने, विगतका सम्झौताहरू कार्यान्वयनको अवस्थाबारे समिक्षा जरूरी रहेको, दुबै देशले एक–अर्काको सुरक्षा लगायत दुईपक्षीय चासोका विषयहरूमा ध्यान दिनुपर्ने, नेपालको असंलग्न परराष्ट्र नीतिबारे छिमेकीलाई विश्वासमा लिनुपर्ने, नेपालले लाभ लिन सकिने विषयहरूमा राम्रो गृहकार्य गरेर भ्रमणमा जानुपर्ने लगायतका विषयहरूमा ध्यान दिनुपर्ने सुझावहरू राखेका थिए।

छलफलमा बोल्दै प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा जोड दिँदै त्यसका लागि आवश्यक गृहकार्य गरिएको बताए। प्रधानमन्त्रीले भने ‘यो छलफल आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी फलदायी र प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यका साथ बोलाइएको हो। प्राप्त सुझावहरू महत्वपूर्ण छन्। यसले मेरो भ्रमणलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ। भ्रमण फलदायी बनाउन सकेसम्म प्रयास गरिएको छ। भ्रमण फलदायी र प्रभावकारी हुन्छ।’

सरकारले दुबै छिमेकीका साथै विश्व समुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्टाउँदै प्रधानमन्त्री दाहालले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको पनि बताए।

संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालले गरिरहेको विकास प्रयास, जलवायु परिवर्तन र त्यसले नेपालजस्ता मुलुकहरूलाई पारेको असर, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन नेपालले खेलिरहेको भूमिकाबारे लगायतका विषयमा जानकारी गराउने र संयुक्त प्रयासका निम्ति अपील गर्ने प्रधानमन्त्रीले जानकारी गराए।

कुटनीतिक तहमा राम्रो छलफल गरेर नै संयुक्त राष्ट्रसंघको महासभाबाट सिधै चीन भ्रमणमा जाने कार्यतालिका निर्धारण गरिएको बताउँदै भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध र दुईदेशीय हितका विषयमा केन्द्रीत रहेर छलफल हुने जानकारी दिए।  

छलफलमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, परराष्ट्रमन्त्री एन.पी. साउद, नेताहरू महन्त ठाकुर, सिके राउत, चित्रबहादुर केसी, प्रेम सुवाल, पूर्वपरराष्ट्रमन्त्रीहरू रमेशनाथ पाण्डे, डा. प्रकाशचन्द्र लोहनी, प्रदीपकुमार ज्ञवाली, डा. बिमला पौडेल राई, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौडेल लगायतका सहभाथी थिए।

प्रकाशित: २४ भाद्र २०८० ०६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App