कोशी सरकारविरुद्धको रिटमा १७ गते सुनुवाइ हुने भएको छ।
शुक्रवार (आज) का लागि निर्धारित रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको हो।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले नागरिक न्यूज डटकमलाई बताए अनुसार स्थगित भएको रिटमाथि अब १७ गते आइतवार सुनुवाइ हुनेछ। १७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा हुनेपनि घिमिरेले बताए।
भदौ ७ गते खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको प्रस्तावमा मत दिनु असंवैधानिक भएको भन्दै दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिएको थियो।
त्यसअघि भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गरेको र यो गैरसंवैधानिक भएको भन्दै पूर्वमुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए।
कोशी प्रदेशका मुख्यमन्त्री थापाले भने गत बुधवार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका थिए। उनले प्रदेश सभाबाट लिएको विश्वासको मत संविधानसम्मत रहेको दाबी गर्दै सरकारले संविधानको धारा १८८ अनुसार विश्वासको मत लिएको तर्क पेस गर्दै उक्त धारा अनुसार बैठकको अध्यक्षता गरेको व्यक्तिले मतदान गर्न मिल्ने भन्दै लिखित जवाफ पेस गरेका थिए।
प्रकाशित: १५ भाद्र २०८० १०:१० शुक्रबार