३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

जेन-जी सहिद परिवारलाई १० वर्षका लागि एकै पटक ११ करोड ९० लाख निकासा

सरकारले पुनर्निर्माण कोषमा जम्मा भएको रकम प्रयोग गर्दै जेन-जी सहिद परिवारलाई आगामी १० वर्षको भत्ताबापतको रकम एकमुष्ट निकासा गरेको छ।

सहरी विकास मन्त्रालयले जेनजी सहिद परिवार कल्याणकारी समाज मार्फत वितरण हुने गरी ११ करोड ९० लाख २८ हजार रुपैयाँ निकासा गरेको हो।

मन्त्रालय स्रोतका अनुसार गत माघ ६ गते नै उक्त रकम समाजको खातामा पठाइएको छ। गत पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो।

सोही निर्णयका आधारमा ४२ जना सहिद परिवारका लागि यो रकम निकासा गरिएको हो।

सहिद परिवारका सदस्यहरूले मासिक २१ हजार ८ सय रुपैयाँका दरले रकम माग गरेका थिए। सरकारले एक वर्षमा १२ महिना र एक महिना दसैँ खर्च गरी १३ महिनाको रकम गणना गरेको छ।

यस अनुसार एक सहिद परिवारले १० वर्षका लागि एकमुष्ट १३० महिनाको रकम बापत २८ लाख ३४ हजार रुपैयाँ प्राप्त गर्नेछन्। ४२ परिवारलाई यो रकम वितरण गर्दा कुल खर्च ११ करोड ९० लाख २८ हजार रुपैयाँ हुनेछ।

जेनजी सहिद परिवार कल्याणकारी समाजका अध्यक्ष नारायण श्रेष्ठले सरकारबाट समाजको खातामा ११ करोड ९० लाख रुपैयाँ जम्मा भएको पुष्टि गरे।

‘सरकारबाट पैसा आएको छ, तर यो सरकारी कोषको रकम भएकाले कसरी वितरण गर्ने भन्ने विषयमा हामी कानुनविदहरूसँग परामर्श गरिरहेका छौँ,’ श्रेष्ठले भने, ‘विधि र प्रक्रिया पूरा गरेर मात्र सहिद परिवारका सदस्यको खातामा रकम हस्तान्तरण गरिनेछ।’

जेन-जी आन्दोलनपछि सरकारले पुनर्निर्माण कोष खडा गरी सर्वसाधारणलाई समेत सहयोगको अपिल गरेको थियो। मन्त्रालय स्रोतका अनुसार पुनर्निर्माण कोष सञ्चालनसम्बन्धी गठन आदेशको दफा ९ मा रहेको व्यवस्था टेकेर यो रकम दिइएको हो।

उक्त दफामा कोषको रकम पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका काममा खर्च गर्न सकिने उल्लेख छ। समाजले गत मङ्सिर २१ गते अर्थ मन्त्रालयमा निवेदन दिँदै १० वर्षको रकम एकमुष्ट उपलब्ध गराउन माग गरेको थियो।

अर्थ मन्त्रालयले सो निवेदन पुनर्निर्माण कोषको सचिवालय रहेको सहरी विकास मन्त्रालयमा पठाएपछि प्रक्रिया अघि बढेको हो।

यसअघि गत असोजमा गृह मन्त्रालयले ४२ सहिद परिवारलाई राहतस्वरूप १० लाख र किरिया खर्चबापत ५ लाख गरी प्रतिपरिवार १५ लाख रुपैयाँ एकमुष्ट प्रदान गरिसकेको छ।

प्रकाशित: २० माघ २०८२ १९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App