मंगलबार शेयर बजार परिसूचक नेप्से १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको छ।
अघिल्लो दिन घटेको बजारमा आज जलविद्युत कम्पनीहरूको वर्चस्व रहँदा कारोबार रकमसमेत बढेर १२ अर्ब नाघेको छ।
आज बजारमा ३४० कम्पनीका ३ करोड ४८ लाख ५२ हजार कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ३ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार बजारमा ११ अर्ब ९७ करोडको शेयर कारोबार भएको थियो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.१४ अंकले बढेको छ भने फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः ०.८९ र ०.६७ अंकले उकालो लागेका छन्।
कारोबार रकमका आधारमा आज जलविद्युत कम्पनीहरूको दबदबा देखिएको छ। ५६ करोड ३७ लाख रुपैयाँको कारोबारसहित रिडी पावर शीर्ष स्थानमा छ। यसैगरी, आँखु खोला जलविद्युतको साढे ५१ करोड र नेशनल हाइड्रोपावरको ४८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
यस दिन चारवटा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेष्ट इनको शेयर मूल्यमा ‘पोजेटिभ सर्किट’ लागेको छ। त्यस्तै, शिवश्री हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतले बढेको छ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ६ वटाको परिसूचक बढेको छ भने ७ वटा घटेका छन्। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशतले बढ्दा बैंकिङ्ग, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डमा सामान्य वृद्धि देखिएको छ।
यस दिन घटेका उपसमूह र कम्पनीहरूको गिरावट दर भने ५ प्रतिशतभन्दा कम रहेको छ।
प्रकाशित: ३ चैत्र २०८२ १५:३४ मंगलबार




