३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

जबरजस्ती यौनजन्य गतिविधिमा सहभागि गराएको आरोपमा पक्राउ

जर्बजस्ती यौनजन्य गतिविधिमा सहभागि हुन बाध्य बनाएको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका छन्। पोखरा–८ जाल्पारोडस्थित एक खाजा घरबाट कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत घर भई पोखरा–१४ चाउथे बस्ने वर्ष २४ का राधेश्याम शाह र बागलुङ काठेखोला गाउँपालिका–४ घर भई हाल पोखरा–१ बगर बस्ने २८ वर्षिय खेमु थापा रहेको कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए। सो कार्यमा संलग्न अन्य केही भने फरार रहेको उनले बताए।

‘पक्राउ परेका र फरार व्यक्तिहरु खाजाघरकै सञ्चालक हुन् वा बिचौलिया भन्ने बारेमा अनुसन्धान भइरहेको छ,’ उनले भने। फरार रहेकाहरुको खोजी कार्य जारी रहेको उनले बताए।

पक्राउ परेकाहरुले निम्न वर्गका महिलालाई गाउँबाट काम दिने बहानामा खाजा घरमा बोलाएर जागिर दिने र केहि दिनपछि होटलमा आउने पुरुषहरुसँग रात विताउन बाध्य बनाउने गरेको पाइएको डिएसपी बस्नेतले बताए। शुरुमा खाने, बस्नेलगायतको सुविधा भएको काम दिन्छु भनेर बोलाउँदा रहेछन्,’ उनले भने, ‘तर पछि होटलमा आउने पुरुषहरुसँग पैसा लिएर जबरजस्ती रात बिताउन लगाउँदा रहेछन्।’

प्रहरीले सो खाजा घरमा काम गर्ने ४ जना महिलाको उद्दार गरेको पनि जनाएको छ। खाजाघरमा दैनिकजसो होहल्ला हुनुका साथै जबरजस्ती यौन पेसा अपनाउन बाध्य बनाएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनीहरुलाई उद्दार गरेको डिएसपी बस्नेतले जानकारी दिए। पक्राउ परेकाहरुलाई जिल्ला अदालत कास्कीबाट मानव वेचविखन तथा ओसारपसार सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी थप अनुसन्धान जारी राखिएको उनले जानकारी दिए।

प्रकाशित: ३ चैत्र २०८२ १८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App