३ चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानसँगको युद्धमा एक्लिए ट्रम्पः नेटो देशहरू भन्छन्-यो हाम्रो युद्ध होइन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हर्मुजको मार्गमा सहयोग गर्न अमेरिकी सहयोगीहरुमा पुनः आह्वान गरेका छन्।

ट्रम्पले नेटो सहयोगीहरूलाई हर्मुजको मार्ग सुरक्षित गर्न आह्वान गर्दै उनीहरु यसमा 'उत्साहित' नभएकोमा छक्क परेको बताए।

इरानमाथि आक्रमणको सुरुको दिनमा खामेनी सहित ४० भन्दा बढी इरानी अधिकारीहरूको मृत्युलाई अमेरिकाले ठूलो सफलताको रूपमा हेरेको थियो। तर १७ दिनमा पनि परिस्थिति परिवर्तन नहुँदा यसको कुनै स्पष्ट अन्त्य देखिएको छैन।

इरानले हर्मुजको मार्ग हुँदै तेल आपूर्ति रोकिदिएपछि विश्व अर्थतन्त्रमा उल्लेखनीय क्षति पुगिरहेको छ।

नेटोका सहयोगीहरूहरूले हर्मुजको मार्गमा आफ्ना युद्धपोतहरू नपठाउने स्पष्ट पारेका छन्। ट्रम्पले भने देशहरूले यो महत्त्वपूर्ण समुद्री मार्ग खोल्न मद्दत नगरे नेटोको भविष्य खतरामा पर्ने बताएका छन्।

द गार्जियनको एक रिपोर्ट अनुसार, जर्मनीले स्पष्ट रूपमा कुनै पनि सैन्य कारबाहीमा भाग नलिने बताएको छ। जर्मन चान्सलर फ्रेडरिक मर्जले भने कि यस विषयमा कहिल्यै कुनै निर्णय भएको छैन, त्यसैले यसमा जर्मनीको सैन्य योगदानको कुनै प्रश्न नै उठ्दैन।  

जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले पनि अमेरिकामाथि प्रश्न उठाउँदै यो युरोपेली युद्ध नभएको र अमेरिकी नौसेना आफैं शक्तिशाली रहेको बताएका थिए।

यस्तै, बेलायती प्रधानमन्त्री केयर स्टारमरले पनि आफ्नो देश ठूलो युद्धमा नतानिने बताएका छन्। उनले  तेल बजार स्थिर बनाउन हर्मुजको मार्ग खोल्ने कुरामा सहमती जनाए पनि युद्धमा सहमती नभएको बताए।

युरोपेली देशहरूले सैन्य कारबाहीको सट्टा कूटनीतिलाई जोड दिएका छन्। युरोपेली संघका विदेश मन्त्रीहरूले पनि आफ्नो रेड सी मिसनलाई होर्मुजमा विस्तार गर्न अस्वीकार गरे। ईयू विदेश नीति प्रमुख काजा कालासले भने कि हाल मिसनको दायरा विस्तार गर्ने कुनै इच्छा छैन।

इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले संकट संवादबाट समाधान गरिनुपर्छ र उनको देश कुनै पनि नौसेना मिसन विस्तार गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्। उनले युरोपेली संघका विद्यमान मिसनहरू केवल समुद्री डाकू विरोधी र रक्षा उद्देश्यका लागि भएको बताउदै तिनीहरूलाई युद्धमा प्रयोग नगर्ने बताए।

अष्ट्रेलिया, फ्रान्स र जापानले पनि आफ्ना युद्धपोतहरू नपठाउने स्पष्ट पारेका छन्। एजेन्सी

प्रकाशित: ३ चैत्र २०८२ १५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App