१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सुन काण्ड छानबिनका लागि एमालेद्वारा उच्चस्तरीय समिति माग

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको सय किलो सुन बरामत भए पनि त्यसमा संलग्न व्यक्तिलाई कारबाही नगरिएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेबाट प्रतिनिधिसभाको बुधबारको बैठक अवरुद्ध भएको छ।  

गत साता साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको सय किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको भए पनि त्यसमा संल्लग्नहरूको अनुसन्धान उच्चस्तरीय छानबिन समिति गठनबाट हुनुपर्ने एमालेले माग गरेको छ।  

सुन प्रकरणबारे उनले उच्चस्तरीय छानबिन समिति बन्ने सुनिश्चितता नभए संसद् अघि बढ्न नसक्ने भन्दै एमालेले सदन अवरुद्ध गरेको हो। प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि अर्को बैठक साउन १५ गते बस्ने गरी बोलाइएको छ। बुधबार १ बजे बोलाइएको बैठक निर्धारित समय भन्दा झण्डै दुई घण्टापछि बसेको थियो।  

बैठकको सुरुमा बोल्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले सुन काण्डका दोषीलाई कारबाही गर्नुपर्ने मात्र बताएनन एक अर्काेलाई आरोप प्रत्यारोपसमेत भएको थियो। आकस्मिक कुरामा मात्र सांसदले भनाइ राखेपछि शून्य समय सुरु हुँदा एमालले बेल घेराउ गरेर नाराबाजी गरेपछि संसद्का सबै बाँकी काम अवरुद्ध भएका थिए। त्यसपछि सभामुखले कार्यसूचीमा रहेका विषय हटाइ अर्को बैठक पाँच दिनसम्मका लागि स्थगित गरेका थिए।  

संसद बैठक बस्नुअघि बुधबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न नदिने निर्णय गरेको थियो। ‘गृहमन्त्री संलग्नताविना त्यत्रो तस्करी हुन सम्भव छैन। यसमा छानबिन हुनुपर्छ। गृहमन्त्री पदमा बस्न योग्य हुनुहुन्न। त्यो नहुँदासम्म संसद् सञ्चालन हुन सक्दैन,’ दलको निर्णय सुनाउँदै प्रमुख सचेतक पदम गिरीले भने।

सोमबार राति कम्बोडियाबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलमा एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्री श्रेष्ठको आलोचना गरेका थिए। सुन काण्डमा गृहमन्त्रीले आफ्नो संलग्नता रहे, नरहेको प्रष्ट पार्नुपर्ने भन्दै एमालेले त्यत्तिकै नछाड्ने बताएका थिए।

संसद् बैठकमा एमाले प्रमुख सचेतक गिरीले भने, ‘सुन तस्करी हुँदा गृहमन्त्री हुँ भनेर उहाँले जुन प्रकारले स्टन्टबाजी गर्दै हुनुहुन्छ। म कारबाही गर्छु म देखाउँछु भन्दै हिँड्नुहुन्छ।’ उनले एमालेले गृहमन्त्रीको राजीनामासमेत माग गरेका थिए। उनले उच्चस्तरीय संयन्त्र नबनाएसम्म सदन चल्न नदिने बताएपछि एमालेका सांसदहरू सभामुखअघिको बेल घेराउ गर्दै नाराबाजी गरेका थिए। त्यसपछि बैठक स्थगित गरिएको थियो। संसद् अवरुद्ध हुनुअघिको भनाइ राख्ने क्रममा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले एमालेको भनाइप्रति प्रतिवाद गरेका थिए। सांसद पौडेलले सरकारले भ्रष्टाचारको फाइल खोलेपछि सांसदहरू खुसी हुनुपर्नेमा टाउको दुखेको बताएका थिए।  

सांसद पौडेलले भ्रष्टाचारका विभिन्न प्रकरणमा सरकारले छानबिन अगाडि बढाएको विषयमा टाउको नदुखाउन सांसदहरूलाई आग्रह गरे। सरकारले केही राम्रो काम गर्दा सांसदहरूले साथ दिनुपर्नेमा चिच्याएर अवरोध खडा गरेको उनले बताए। ट्रान्सपरेन्सी इन्टरनेशनलले एमाले अध्यक्ष केपी ओली सरकारको पालमा नेपालको भ्रष्टाचारको अवस्था कस्तो देखाएको थियो भन्ने कुराको उनले संकेत गरे।  

ट्रान्सपरेन्सी इन्टरनेसनल एसिया प्रतिवेदन २०२० मा अघिल्लो वर्ष १ सय १३औं स्थानमा रहेको नेपाल १ सय १७औं स्थानमा पुगेको जनाएको र त्यसले नेपाललाई भ्रष्टाचार निकै ठूलो मात्रमा वृद्धि भएको उल्लेख गरेको थियो भन्दै पौडेलले सुन तस्करीको अनुसन्धानलार्ई साथ दिनुपर्नेमा उल्टो राजीनामा मागिएको भन्दै आपत्ति जनाए। उनले यो अभियानमा कसैको अनुहार नहेरी अगाडि बढ्न सरकारलाई आग्रहसमेत गरे।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले सुन काण्डको जरो कहाँ छ भन्ने कुरा बाहिर ल्याउन माग गरे। ‘हरेक विषय सरकारले सुरू गर्छ, अलि जरोसम्म पुग्छ कि भन्यो अड्किन्छ, गिजोलिन्छ,’ उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा जरो कहाँ पुगेको छ सारा जनतालाई थाहा छ, सुरूवात गर्‍यो सरकार अड्कियो।’ उनले ललिता निवास काण्डको जरो कहाँ छ त्यो पनि खोज्न उनले आग्रह गरे। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केही भरियालाई पक्रेर सुन तस्करका नाइकेलाई जोगाउने काम गर्न नहुने बताए। उनले यस प्रकरणमा छानबिनका लागि आयोग बनाउनुपर्ने बताए।

कांग्रेसका सांसद सुनिल शर्माले छानबिनसम्म गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरे। सुन प्रकरण छानबिन गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनुपर्ने छानबिन पछि उहाँको संलग्न नभए पुन पदमा आउन सकिने उनको भनाइ थियो। ‘भरियालाई जेलभित्र हाल्ने, मुख्य नाइके नसमाउने भन्दै उनले भने ‘मुख्य नाइके सरकारले समाएन भने म संसद्मै अनसन बस्छु।’  

कांग्रेसका रामहरि खतिवडाले नेपाललाई सुन तस्करको ट्रान्जिट प्वाइन्ट बनाउने खेल देखिएको बताए। ‘यसैगरी, तस्करी हुनेहो भने नेपाल तस्करको स्वर्गभूमि निर्माण हुन जान्छ त्यसैले सरकारले यसबारे अनुसन्धान गर्नुपर्दछ र दोषीलाई कारबाही गर्नुपर्दछ,’ उनले भने, ‘नेपाललाई तस्कर गरेको सुनको भूमि बनाउने खेलमा लाग्नु हुँदैन त्यसैले गृहमन्त्रीले छानबिन गरी सदनलाई जानकारी दिनुपर्दछ।’

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दस वर्षमा त्रिभुवन विमानस्थलबाट ४ हजार १ सय १७ किलो सुन कसरी तस्करी भएको बताउँदै यसबारे छानविन गर्नुपर्ने बताए। उनले कुन प्रधानमन्त्री अर्थमन्त्री, गृहमन्त्री के कति सुन तस्करी भयो छानबिन गरी दोषीलाई कारबाही गर्नसमेत माग गरे।  

सुन तस्करीबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सय किलो सुन तस्करी प्रकरणको छानबिन गर्न माग गर्दै जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ। बुधबार दर्ता भएको प्रस्तावमा गत साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मोटरसाइकलको ब्रेक सु र सेभिङ ब्लेडमा राखेर एकसय किलो सुन ल्याएको भेटिएको विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार परीक्षणको सञ्चालन र त्यहाँको प्रणालीमा नै गम्भीर प्रश्न उबजहाज कुर्दा कुर्दै कोल्टीमा विरामीको उब्जाएको उल्लेख छ।

यति ठूलो मात्राको सुन कसरी पत्ता नलागी भन्सार जाँचपास गर्‍यो ? सो सम्बन्धी विस्तृत अनुसन्धान गर्न सरकारलाई माग गर्न भनिएको छ। सरकारले अब सुनको अवैध आयात तथा तस्करीको संगठित अपराध नियमन गर्न के–कस्तो पहल लिएको छ, यदि पहल गरेको भए उक्त पहलमा के–कति प्रगति भएको छ, सोको बारे सरकारसँग जानकारी माग गर्न प्रस्ताव दर्ता गरिएको उल्लेख छ।  

भन्सारभित्रबाट नै भएका तस्करीको भविष्यमा कडा रोकथामका सम्बन्धमा सरकारले के कस्तो कार्ययोजना पहल गरेको छ सोबारे सरकारसँग जानकारी माग गर्नुपर्ने उल्लेख गरिएको छ। सरकारले बरामद भएका सुनको प्रयोग के–कसरी गर्ने सोचेको छ त्यसको स्पष्ट खाका सरकारबाट माग गरिएको छ ।

प्रकाशित: ११ श्रावण २०८० ०१:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App