२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कृषि क्षेत्रलाई अलग राख्दा समृद्धि ल्याउन सकिँदैन: मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रलाई अलग राखेर प्रदेशको समृद्धि ल्याउन नसकिने बताएका छन्।

आज धनगढीमा आयोजित भीमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले कृषि क्षेत्रमार्फत प्रदेशको विकास गर्नका लागि गर्नुपर्ने काममा सरकार पछि नपर्ने बताए। उनले भने, ‘कृषिउपजको आयात रोकेर स्वदेशमै उत्पादित कृषिउपजको निर्यात बढाउनेतर्फ अब ध्यान दिन जरुरी भइसकेको छ।’

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा मदनसिंह धामीले कृषिको उत्पादन र उत्पादकत्व बढाउन मन्त्रालयले कृषि गतिविधिमा सहयोग गरिरहेको बताए। कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले सहिद भीमदत्त पन्तको नामबाट उत्कृष्ट किसानलाई पुरस्कार प्रदान गर्ने सरकारको नीतिले कृषकको हौसला बढ्ने विश्वास व्यक्त गरे।

पाँच किसान पुरस्कृत

प्रदेश सरकारले खडा गरेको ‘भीमदत्त उत्कृष्ट पुरस्कार २०७९’ अन्तर्गतको भीमदत्त सर्वोत्कृष्ट पुरस्कारबाट कञ्चनपुर बेलौरी नगरपालिकाका असारेराम बडायक पुरस्कृत भएका छन। उनले पुरस्कार स्वरुप रु एक लाख ५० हजार र प्रशंसापत्र पाएका छन्।

कृषिमा नयाँनयाँ प्रविधि अपनाएर खेती गरिरहेका उनी अन्य किसानका लागि नमूना कृषकको रुपमा स्थापित भएका छन्। बजारमा पाउने कृषि उपकरणलाई आफैँले किसान तथा जग्गामैत्री बनाउँदै उनले लागत खर्च कम गरी उत्पादत्व वृद्धि गरिरहेका छन। बडायकले आफ्नो उखु खेतीभित्र आलु र तोरी खेती गरिरहेका छन।

रु ७५ हजार र प्रशंसापत्रसहितको भीमदत्त उत्कृष्ट पुरस्कारबाट कैलाली घोडाघोडी नगरपालिकाका पहलमान देउवा पुरस्कृत भए। उनले २२ बिघा जग्गा भाडामा लिई कुखुरा, बङ्गुर, बाख्रा, माछापालनका साथै ड्रागन खेती र घाँस खेती गरिरहेका छन। रु ७५ हजार र प्रशंसापत्रको भीमदत्त उत्कृष्ट पुरस्कारबाट नै डडेलधुरा अमरगढी नगरपालिकाका प्रिन्सराज अवस्थी, गन्यापधुरा गाउँपालिकाका प्रसाददत्त अवस्थी, र बैतडी पाटन नगरपालिकाका जयन्ती भाट ९बिजले० पनि पुरस्कृत भएका छन।

अमरगढी नगरपालिकाका कृषक अवस्थीले डडेलधुरा र बझाङमा गरी झण्डै एकसय २० रोपनी जग्गामा तरकारी खेती गरिरहेका छन। उनले  तरकारी खेतीबाट प्रत्यक्षरुपमा दश जनाले र अप्रत्यक्षरुपमा धेरै व्यक्तिले रोजगारी पाएको जानकारी दिए। गन्यापधुराका प्रसाददत्त अवस्थीले गाउँपालिकाका विभिन्न ठाउँमा गरी झण्डै दुईसय रोपनीमा तरकारी खेती गरिरहेका छन। पाटन नगरपालिकाकी जयन्ती भाट (बिजले)ले करिब ४० रोपनी जग्गामा तरकारी खेती गरिरहेकी छिन्।

प्रदेश सरकारले कृषकको हौसला बढाउँदै कृषि उपजको व्यावसायिक उत्पादन गराउनका लागि किसान नेता स्व भीमदत्त पन्तको नामबाट दुई वर्षअघि यो पुरस्कार खडा गरेको थियो।

प्रकाशित: १० श्रावण २०८० १५:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App