१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

न्यायालयको अन्यौल हटाउन प्रेस र बारको मुख्य भूमिकाः प्रधानन्यायाधीश कार्की

फाइल तस्बिर

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नेपाली प्रेस र नेपाल बार एशोसिएसनको सक्रिय भूमिकाका कारण लामो समयदेखि न्यायालयमा रहेको नेतृत्वको अन्योल हटेको बताएका छन्।

सर्वोच्च अदालत लामो समयदेखि कार्यवाहक प्रधानन्यायाधीशको नेतृत्वका भरमा चल्नुपरेको कारण न्यायिक काम कारवाही प्रभावित भएको उल्लेख गर्दै प्रधानन्यायाधीश कार्कीले न्यायालयको स्वतन्त्रतालाई जोगाइराख्न प्रेस जगतले अतुलनीय सक्रियता देखाएकोमा उच्च प्रशंसा गरे।

प्रेस जगत र बार एशोसिएसन प्रधान न्यायाधीश नियुक्तिको लागि नलडेको भए आजको दिन आउन मुस्किल पर्ने थियो भन्दै आफूले उक्त पक्षलाई कहिल्यै भुल्न नसक्ने प्रेस काउन्सिल नेपालको टोलीसँग नवनियुक्त प्रधानन्यायाधीश कार्कीले बताए। 

'मैले कानुन व्यवसायको क्रममा समेत प्रेस र बारको अधिकारको लागि लडेको थिएं, अहिले प्रेस र बारबाटै रिवार्ड पाएको छु,' कार्कीले थपे, 'मेरो छोटो कार्यकाल छ तर पनि प्रेस स्वतन्त्रताका लागि अझै आफ्नो भूमिका आइपरे सो का लागि प्रतिबद्ध छु।'

प्रधान न्यायाधीशको च्याम्बर सर्वोच्च अदालतमा भएको शुभकामना भेटघाट कार्यक्रममा कार्कीले छोटो समय भएपनि आफ्नो कार्याकालमा न्यायिक स्वच्छता कायम राख्ने दिशामा उल्लेखनीय कदम चाल्नमा प्रेरित रहेको बताए।

न्यायालय अझै आर्थिक रुपमा स्वायत्त हुन नसकेको उल्लेख गर्दै प्रधान न्यायाधीश कार्कीले कुल राष्टिय बजेटको एक प्रतिशत पनि न्यायालयलाई सरकारले नछुट्याएकोमा चिन्ता व्यक्त गरे।

'यो पाटोलाई पनि अहिले न्यायालयको स्वतन्त्रताको लागि लड्ने पक्षहरुले विचार गर्नुपर्ने अवस्था आएको छ,' कार्कीले भने, 'कतिपय अदालतका भवनहरु पुराना र जीर्ण छन्, कतिपय अदालतहरु चल्नै नसक्ने अवस्थामा छन्, कतिपय अदालतमा भीडभाडको समयमा पाकेट मारिने अवस्था छ, त्यसलाई व्यवस्थित गर्न पनि भवनको उचित व्यवस्थाका लागि तपाईंहरुले आवाज उठाईदिनुपर्ने अवस्था छ।'

प्रकाशित: ५ असार २०८० १३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App