११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मोर्चाले माने चुनाव दुई चरणमा गर्न कांग्रेस तयार

काठमाडौं- नेपाली कांग्रेसका नेताहरूले संविधान सर्वस्वीकार्य बनाएर मात्र निर्वाचनमा जुट्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन्। नेताहरूले मधेसी मोर्चालाई साथ नलिई निर्वाचनमा जाँदा मुलुकमा नयाँ द्वन्द्व सिर्जना हुने भएकाले संविधान संशोधन टुंगो लगाएर मात्र चुनावमा जुट्न आग्रह गरेका हुन्।

संविधान संशोधनबिना प्रदेश नम्बर २ मा चुनावका लागि सहज वातावरण हुन नसक्ने सुझा नेताहरूले नेतृत्वलाई दिएका छन्।

स्थानीय चुनाव तयारी र प्रदेश २ को अवस्था बुझ्न कांग्रेस नेतृत्वले शनिबार केन्द्रीय सदस्य, सांसद र जिल्ला सभापतिसँग गरेको छलफलमा मोर्चालाई सहमतिमा ल्याउन केही दिन निर्वाचन सार्न वा दुई चरणमा गर्न तयार हुन सुझाव दिइएको हो। यसमा सभापति देउवा पनि सकारात्मक देखिएका छन्। सरकारले वैशाख ३१ गते स्थानीय चुनाव मिति तोकेको छ।

'एउटा भाग र समुदायको असन्तुष्टि थाती राखेर कांग्रेस जस्तो जिम्मेवार पार्टी निर्वाचनमा जानुहुन्न,' केन्द्रीय सदस्य रामकृष्ण यादवले भने, 'निर्वाचन आवश्यकता भए पनि त्यसका लागि संविधान संशोधन गरेर सहज वातावरण बनाउनुपर्छ। सबै सहभागी हुनुपर्छ।'

संविधान संशोधनबिना प्रदेश नम्बर २ मा चुनावका लागि सहज वातावरण हुन नसक्ने सुझा नेताहरूले नेतृत्वलाई दिएका छन्।

जिल्ला सभापतिहरूले संविधानलाई सर्वस्वीकार्य नबनाईकन निर्वाचनमा गए मुलुक थप द्वन्द्वमा फस्ने भन्दै नेतृत्वलाई सचेत पनि गराएका छन्। 'कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले मुलुकलाई द्वन्द्व र अराजकतामा फसाउने काम गर्नु हुन्न,' जिल्ला सभापतिहरूको सामूहिक  भनाइ उद्धृत गर्दै एक सहभागीले भने, 'संविधान संशोधन निष्कर्षमा नपुर्‍याई चुनावमा लाग्दा वातावरण अझ बिग्रन्छ। यथास्थितिमा मधेसमा चुनावमा जुट्ने अवस्था छैन।'

जिल्ला सभापति र सांसद् मात्र होइन पार्टी कोषाध्यक्ष एवं शान्तिमन्त्री सीतादेवी यादवले पनि संविधान संशोधनबिना मधेसमा निर्वाचनका लागि जान सक्ने अवस्था नरहेको धारणा राखेकी थिइन्। 'बरु मलाई पहाडतिरको जिम्मा दिनुस्, संशोधनबिना मधेसमा निर्वाचनमा जानसक्ने अवस्था छैन,' यादवलाई उद्धृत गर्दै एक नेताले भने।

पार्टी केन्द्रीय सदस्य एवं उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनबिना प्रदेश २ मा निर्वाचन गराउन सुरक्षाका दृष्टिकोणले पनि चुनौती रहेको बताएका थिए। संविधान सर्वस्वीकार्य बनाएर मात्र निर्वाचनमा जानुपर्ने उनको भनाइ थियो। 'मोर्चासँगको तीनबुँदे सहमतिको जगमा नै अहिलेको सरकार गठन भएको हो,' निधिले भने, 'सहमतिअनुसार उनीहरूलाई लिएर निर्वाचनमा जानुपर्छ।'

मोर्चालाई साथमा लिएर जान दुई चरणमा निर्वाचन गराउँदा पनि कुनै समस्या नहुने धारणा राख्दै निधिले चुनाव नभए कांग्रेस नेतृत्वमा सरकार गठन हुँदैन भन्ने भ्रममा नपर्न पनि आग्रह गरे।

कांग्रेस र माओवादीबीच पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन पहिला सत्ता साझेदारीका सात र पाँचबुँदे सहमति भएको स्मरण गराउँदै सोही अनुसार सरकार गठन प्रक्रिया सुरु हुने निधिले बताएका थिए। सार्वजनिक नभएको पाँचबुँदे सहमतिको बुँदा तीनमा २०७३ चैत मसान्तासम्म पुष्पकमल दाहालले र वैशाख १ पछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने सहमति छ। देउवा नेतृत्वको सरकार संसद्को निर्वाचन भएर नयाँ सरकार गठन नहुँदासम्म रहने सहमति छ।

सरकारले स्थानीय निर्वाचन मिति घोषणापछि दाहाललाई थप एक महिना नेतृत्व गर्ने सहमति भएको जनाउँदै एक सदस्यले भने, 'पहिला दाहाल नेतृत्व सरकारले स्थानीय र देउवा नेतृत्व सरकारले प्रदेश र केन्द्रको निर्वाचन गराउने भन्ने थियो। त्यसलाई हटाएर मिति मात्र छ। तर, चुनाव नगराई माओवादीले छाड्दैन भन्ने भ्रम नेतृत्वमा छ।'

तीसभन्दा बढी नेता छलफलमा सहभागी थिए। सहभागीले तराईमधेसको माग सम्बोधन गर्न संशोधनलाई प्राथमिकता दिई स्थानीय निर्वाचन सुनिश्चित गर्न र राजनीतिक वातावरण बनाउन पार्टी नेतृत्वले अग्रसरता लिन नेतृत्वलाई अनुरोध गरेको कांग्रेस विज्ञप्तिमा उल्लेख छ।

निर्वाचन नभए उपलब्धि गुम्ने

कांग्रेस शीर्ष नेताहरूले आगामी माघ ७ भित्र तीनै तहको निर्वाचन हुन नसके प्राप्त उपलब्धिहरू गुम्ने बताएका छन्। प्रदेश दुईबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापतिसँगको छलफलमा सकेसम्म मोर्चालाई सहमतिमा ल्याएर निर्वाचनमा जाने निष्कर्ष निकालिएको छ। सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितका नेताले मोर्चा निर्वाचनमा सहभागी हुने भए दुई चरणमा गराउन पनि पार्टी तयार हुने धारणा राखेका थिए।

सभापति देउवाले मोर्चा निर्वाचनमा आउन तयार भए दुई चरणमा चुनाव गराउन पार्टी र सरकार तयार हुने धारणा राखेका थिए। देउवाले भने, 'चुनावमा मोर्चा आउँछ भने दुई चरणमा गर्न पनि पार्टी तयार हुन्छ तर, पछि कुरा फेर्नु भएन।'

संशोधनका लागि सत्तारूढ गठबन्धनसँग अझै स्पष्ट दुईतिहाइ बहुमत जुटिनसकेको धारणा राख्दै देउवाले भने, 'कांग्रेस ठूलो पार्टी भए पनि सरकार बनाउन पनि बहुमत छैन, संशोधन गर्न पनि दुईतिहाइ पुर्‍याउन सकिएको छैन।'

मोर्चाको माग सम्बोधनका लागि संविधान संश्ाोधन गरेर जाने पार्टीको चाहना रहेको भन्दै देउवाले थपे 'दुईतिहाइ पुर्‍याउन भनेर कमल थापालाई पनि सरकारमा सहभागी गराएका हौं तर संख्या पुगिराखेको छैन। एमाले संशोधनका लागि तयार छैन।'

संशोधन प्रस्तावलाई प्रक्रियाबाट टुंगो लगाउनुपर्ने सदस्यको रायप्रति देउवाले प्रक्रियाबाट टुंगो लगाउँदा पनि मोर्चाले अस्वीकार गर्ने र उल्टो कांग्रेसमाथि असहयोग गरेको आरोप लाग्ने बताए। 'आगामी माघ ७ भित्र तीनै तहको निर्वाचन गराउनैपर्छ,' देउवाले भने, 'नत्र उपलब्धि गुम्नसक्छ। हामीसँग राष्ट्रपति, सभामुख केही छैन, त्यता पनि ध्यान दिनुपर्छ।'

नेता पौडेलले उपलब्धि रक्षाका लागि चुनाव अनिवार्य रहेको बताउँदै त्यसका लागि असन्तुष्ट पक्ष र समुदायलाई समेट्ननुपर्ने धारणा राखे।

महामन्त्री कोइरालाले संशोधन प्रस्ताव प्रक्रियामा लगेर वा कसरी हुन्छ सबै पक्षको चित्त बुझाएर चुनावमा जानुपर्ने धारणा राखेका थिए।

प्रकाशित: ३ वैशाख २०७४ ०१:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App