१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा,स्वास्थ्य मन्त्रीले बुझाइन राजीनामा

कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला लिम्बूले पदबाट राजीनामा दिएकी छिन्।

बुधबार बसेको जसपा प्रदेश समितिको वैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुधबार दिउँसो राजीनामा बुझाएकी हुन्।

राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री लिम्बूले कोशी नामकरणको विपक्षमा रहेका पहिचान पक्षधरको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई पटक पटक आग्रह गर्दा नमानेपछि नैतिकताका आधारमा जिम्मेवारीबाट राजीनामा दिएको बताइन्।

मन्त्री लिम्बुले पार्टीको निर्णय अनुसार सरकारमा गएर दिएको जिम्मवारी निर्वाह गरेको र पार्टीकै निर्देशन अनुसार पदबाट राजीनामा पनि दिएको जानकारी दिइन्। उनले पहिचान पक्षधरको आन्दोलनलाई वार्ताका माध्ययमबाट सम्बोधन गर्न सरकारलाई बारम्बार आग्रह गरेपनि नमानेको गुनासो गरिन्। उनले पहिचानको पक्षमा लागि पर्दा पनि पहिचान  पक्षधरबाटै आफ्नो चरित्र हत्या गरिनु दुःखद भएको बताइन्। सरकारमा बसेर पहिचानको मुद्दा उठाउदा आफूमाथि पहिचान पक्षधरबाट नै आक्रमणको प्रयास भएको उनले बताइन्। जेठ १४ गते पहिचान पक्षधरले आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयमा ढुंगामुढा गर्नुकासाथै मन्त्रालयको झ्याल, वोर्ड र सवारीसाधनमा तोडफोड गरेका थिए।

जसपा प्रदेश अध्यक्ष दीपक याख्खाले पहिचानको मुद्दा सम्बोधन नभएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्थामा पुगेको बताए। सरकारमा बसेर पार्टीको तर्फबाट मन्त्री पहिचानको एजेन्डा राख्दा सम्बोधन नभएको र सरकार पक्षबाट आन्दोलनकारीमाथि दमन गरेका कारण सरकारबाट बाहिरिएको उनको भनाई छ। याख्खाले आजकै मितिबाट सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको स्पष्ट पारे।  

प्रकाशित: १७ जेष्ठ २०८० १३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App