१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

रिहा भए चौधरी, माफीको दुरुपयोग

कैद सजाय मिनाहा भएपछि सोमबार डिल्लीबजार कारागारबाट बाहिरिने क्रममा रेशमलाल चौधरी । तस्बिर: प्रसन गुरुङ/नागरिक

टीकापुर घटनामा दोषी ठहर भई जन्मकैद भोगिरहेका रेशमलाल चौधरीलाई गणतन्त्र दिवसको अवसर पारी माफी मिनाहा दिनुलाई गणतन्त्रको चरम दुरूपयोग भएको भन्दै सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका छन्। तीन तहको अदालतबाट दोषी ठहर भएको एक महिना पनि नबित्दै गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिले सजाय माफी गरेका हुन्। सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठसमेत नआउँदै गणतन्त्र दिवसको निहुँमा चौधरी राष्ट्रपतिबाट माफी पाई सोमबार जेलमुक्त भएका छन्।

‘पीडितप्रति राज्यको असंवेदनशीलता, विधिको शासनप्रति सरकारको झुटो प्रतिबद्धता, दण्डहीनतालाई प्रश्रय दिने कार्य उजागर भएको छ र गणतन्त्रप्रति वितृष्णा जगाउने काम भएको छ,’जवाफदेही निगरानी समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ। कैलाली जिल्लाको टीकापुरमा मिति २०७२ भदौ ७ गते एक नाबालक सहित आठजना सुरक्षाकर्मीहरूको बीभत्स हत्या भएको थियो। घटनाका मुख्य दोषी मानिएका चौधरीलाई माफी दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। ‘नेपालको अदालतबाट भएको आदेश वा निर्णय सबैले पालना गर्नुपर्ने अनिवार्य संवैधानिक प्रावधानलाई कुण्ठित गर्दै अदालतको आदेशलाई आत्मसात् नगरी संविधानले प्रत्याभूत गरेको अपराधपीडितको मौलिक हकसमेतको उल्लंघन गरेर दण्डहीनतालाई प्रश्रय एवं संस्थागत गर्ने कार्य भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिबाट भएको माफीको घोषणाले अपराधलाई राजनीतीकरण गर्दै पीडितको न्यायिक हकमाथि अतिक्रमण गरेर गणतन्त्रको उपहास भएको छ।’

संविधानको धारा २७६, फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९, सजाय माफी, मुल्तबी, परिवर्तन कार्यविधि २०७१, सर्वोच्च अदालतको संवैधानिक इजलासबाट प्रतिपादित सिद्धान्त समेतको दुरूपयोग तथा बर्खिलाप हुनेगरी पीडितविरुद्ध गरेको अन्यायपूर्ण निर्णयप्रति निगरानी समितिले घोर आपत्ति जनाएको छ। चौधरी सोमबार बिहान रिहा भएका हुन्।

प्रकाशित: १६ जेष्ठ २०८० ०१:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App