७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

गणतन्त्र केही समयको विकाउ मात्रै हो: पूर्व राजा शाह

पूर्व राजा ज्ञानेन्द्र शाहले दुई दशक लामो गणतन्त्रात्मक व्यवस्था केही समयको विकाउ भएको बताएका छन्। उनले दुई दशक समय गुमाएर अभ्यास भइरहेको अहिलेको व्यवस्थामा विधि, शासन र प्रशासन सही र सार्थक हुन नसकेको बताए।  

‘विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर दिइने सुशासन र विकासनै हो,’ शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै पूर्व राजा शाहले भनेले भने, ‘तर, दुई दशक लामो समय गुमाएर अभ्यास भइरहेको विधि, व्यवस्था, शासन, प्रशासन सही र सार्थक भएको छ र ? हामी जनहाँजहाँ जान्छौं, जेजे सुन्छौं, जस्तोजस्तो देख्छौं, त्यसबाट थाहा पाउँछौं, आज कुरा धेरै काम थोरै भएको छ।’  

उनले लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, समाजवाद, विज्ञानवाद, बैज्ञानिकवाद, भौतिकवाद जे–जे शब्द भनिएपनि देश, जनता, समाज, समुदाय र समूहको सर्वोतम सेवा र सम्माननै भएको बताए। उनले नेपाल र नेपालीको सही हित चाहनेहरुले यस्ता कुरा गहिरिएर सोचीरहेको बताए।  

पूर्व राजा शाहले अहिलेको शासन व्यवस्था जनताले रोजेको, खोजेको र सोचेको जस्तो नभएको बताए। ‘जनताले रोजेको, खोजेको र सोचेको अनुसार जव हुँदैन, त्यस्तो पद्दती केही समयको विकाउ मात्र हुन्छ, टिकाउ हुँदैन्,’ उनले भने। उनले मौलिकता र स्वाधिनता नेपालीको स्वाभिमान भएको बताउँदै कसैका अघाडि लम्पसार परेर बाँच्नु अपमान भएको बताए।‘हामीलाई हाम्रै माटो मलिलो लाग्छ, हाम्रै भेषभूषा सुकिलो लाग्छ, आफ्नै धर्मकर्म, रितिथिति, संस्कृति र परम्परा प्रिय लाग्छ, पहिचान हाम्रो शान हो’ उनले भने, ‘मौलिकता र स्वाधिनता हाम्रा स्वाभिमान हुन्, कसैको अघाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो।’  

पूर्व राजा शाहले अव देशलाई कसरी अघि बणउने, कस्तो शासन व्यवस्था अंगाल्ने भन्ने कुरामा सोच्नुपर्ने बेला आएको बताए। ‘अव कसरी जाने, के कस्तो विधि व्यवस्था अंगाल्ने, हाम्रो गौरव गरिमालाई कुन रुपमा ल्याउने भन्ने कुरामा सोच्नैपर्ने बेला आएको छ,’ उनले भने, ‘अव सोचौं, के गर्दा देशको राम्रो हुन्छ, के नगर्दा देशलाई फाइदा हुन्छ।’

उनले राष्ट्रवाद फष्टाउनका लागि राष्ट्रप्रेमको खाँचो आवश्यक पर्ने बताए। उनले देश विकासका लागि सबै मिलेर एकसाथ अघि बढ्न आवश्यक रहेको बताए। ‘राष्ट्रवाद फष्टाउनका लागि राष्ट्रप्रेमको खाँचो आवश्यक पर्छ, नेपालको पीरमर्का बुझ्न नेपाली मुटुले मात्रै सकिन्छ, अव मिलौ, जुटौं, सबै एक भएर विकासका निम्ति डटौं।’  

प्रकाशित: १३ जेष्ठ २०८० १०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App