२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

किन रास्वपा छोडे रुपन्देही-१ बाट उम्मेदवार सिफारिस भएका कुँवरले ?

बालेनका सल्लाहकारलाई खल्तीबाट उम्मेदवार बनाएको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट रुपन्देही–१ का उम्मेदवार सिफारिस श्री कुँवरले पार्टी नै छाडेका छन् । उनले पार्टी सभापतिलाई सम्बोधन गर्दै साधारण सदस्यबाटै राजीनामा गरेका छन् ।  

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका कुँवरको राजीनामालाई पार्टीभित्र महत्वका साथ हेरिएको छ ।  

उम्मेदवारले नै पार्टी छोड्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्न पनि उठ्न थालेको छ ।  

कुँवरले भने पार्टीले अंगीकार गरेको प्राइमरी इलेक्सन नभएपछि पार्टी नै छाडेको दावी गरेका छन् ।  

रुपन्देही–१ बाट कुँवरसहित ६ जना सिफारिस भएको थिए । तर, प्राइमरी इलेक्सन नगरी पार्टीले सो क्षेत्रमा सुनिल लम्साललाई उम्मेदवार बनाएको थियो । लम्साल रास्वपा वरिष्ठ नेता बालेन्द्र साह काठमाडौंको मेयर हुँदा सल्लाहकारको भूमिकामा थिए ।  

उम्मेदवार आकांक्षीबाट २५ हजार रुपैयाँ लिएर प्राइमरी इलेक्सन नै नगरेको, राष्ट्रियताप्रति पार्टीको सोच र दृष्टिकोण स्पष्ट नभएको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन् ।

समानुपातिकमा नाम राखिदिने भनेर ५० हजार र प्रत्यक्षमा २५ हजार रकम लिने भ्रष्टाचारको नयाँ तरिका भएको आरोप कुँवरको छ ।

कुँवरले राजीनामा पत्रमा लेखेका छन्, ‘मैले रास्वपा पार्टी स्थापना कालदेखिनै सक्रियता पूर्वक काम गरेको र म रुपन्देही क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार भएता पनि पार्टीले प्राइमरी भोटिङ नै नगरी सुनिल लम्साललाई खल्तीबाट निकालेर टिकट दिएकोमा मेरो असहमत रहेकोले मैले राजनीतिक विद्रोहको अधिकार प्रयोग गर्दै साधारण सदस्यसमेतबाट राजीनामा गरेको छु ।’

रास्वपाले विदेशमा रहेका धेर नेपालीको भावनामा खेलवाड गरेको र विदेशमा सेटल भएर बसेका नेपालीलाई धोका दिएर बिगारेको कुँवरको भनाइ छ ।

प्रकाशित: २२ माघ २०८२ १५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App