१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

इनिशा घटनामा दबाब दिएको आरोप निराधार : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले इनिशा बिक मृत्यु प्रकरणका सन्दर्भमा पीडित परिवारलाई भेटेर समवेदना तथा न्यायका लागि ऐक्यबद्धता प्रकट गरेको विषयलाई लिएर केही अनलाइन तथा सामाजिक सञ्जालमा भ्रमपूर्ण टिप्पणीहरू सार्वजनिक भएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

मुख्यमन्त्री कँडेलले सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण भएको बताएका हुन्। उनले यस्तो दुःखद घडीमा परिवारलाई सान्त्वना दिनु, उनीहरूका पीडा सुन्नु र न्यायका लागि आफ्नो तर्फबाट पहल गर्नु मानवीयताको सामान्य दायित्व भएको विश्वास व्यक्त गरेका छन्।

भेटघाटका क्रममा आफूले इनिशाकी आमासँग कुरा गर्दै घटनाको निष्पक्ष र कानुनी ढंगले अनुसन्धान हुने तथा कानुन अनुसार न्याय सुनिश्चित गरिने विश्वास दिलाएको बताएका छन‍्। यसबाहेक कुनै प्रकारको दबाब दिने वा प्रभाव पार्ने कुरा पूर्ण रूपमा गलत र सरासर निराधार रहेको उनको भनाइ छ।

'भेटघाटका क्रममा मैले इनिशाकी आमासँग कुरा गर्दै घटनाको निष्पक्ष र कानुनी ढंगले अनुसन्धान हुने तथा कानुन अनुसार न्याय सुनिश्चित गरिने विश्वास दिलाएको थिएँ। यसबाहेक कुनै प्रकारको दबाब दिने वा प्रभाव पार्ने कुरा पूर्ण रूपमा गलत र सरासर निराधार हो,' उनले भनेका छन्।

कँडेलले सरकारको तर्फबाट यस घटनाको सत्यतथ्य बाहिर ल्याउने र कानुन अनुसार कारबाही गर्ने प्रक्रिया स्वतन्त्र र निष्पक्ष रूपमा अगाडि बढ्ने तथा पीडित परिवारलाई न्याय दिलाउने कुरामा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। घटना सार्वजनिक लगत्तै अपराधमा संलग्नमाथि अनुसन्धान गरी कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देशन दिइएको उनले जानकारी दिएका छन्।

उनले पीडितलाई न्याय दिलाउने र अपराधमा संलग्नमाथि हदैसम्म कारबाही गर्ने विषयमा आफू जुनसुकै मोर्चाको अग्रभागमा रहन तयार रहेको बताए। साथै उनले सञ्चार माध्यमलाई यस प्रकारका भ्रमपूर्ण र मिथ्या समाचार सम्प्रेषण नगर्न तथा भ्रमपूर्ण सूचनामा विश्वास नगर्न सबैमा अपिल गरेका छन्।

कँडेलले छोरी इनिशाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

'पीडितलाई न्याय दिलाउने र अपराधमा संलग्नमाथि हदैसम्म कारबाही गर्ने विषयमा म जुनसुकै मोर्चाको अग्रभागमा रहन तयार छु,' उनले भने, 'सञ्चार माध्यमलाई यस प्रकारको भ्रमपूर्ण र मित्थया समाचार सम्प्रेषण नगर्न तथा भ्रमपूर्ण तथा मित्था सूचनामा विश्वास नगर्न  सबैमा अपिल गर्दछु।'

प्रकाशित: २८ फाल्गुन २०८२ ०८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App