१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

आरजुको उजुरीमा दोहोरो अनुसन्धान, थापालाई छैन उन्मुक्ति

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्चमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं कांग्रेस नेत्री आरजु राणा देउवा पनि संलग्न भएको अडियो सार्वजनिक भएपछि त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीले आरजुले दिएको उजुरीमाथि छानबिन मात्र गरेको छैन, अडियोमा उल्लेख गरिएको विषयबारे अनुसन्धान पनि गरिरहेको छ। साथै पूर्वगृहमन्त्री रामबहादुर थापाले पनि यो विषयमा उन्मुक्ति पाउने अवस्था देखिन्न। उनका छोरा प्रतीक थापा पक्राउ नपरेकाले पूर्वगृहमन्त्री थापालाई पक्राउ गर्ने आधार नभेटिएको बताइएको छ। प्रहरीले उनलाई शंकाको घेरामा राखिरहेको छ।

‘आरजुले दिएको उजुरीमा प्रहरीको दोहोरो अनुसन्धान भइरहेको छ। एकातर्फ साइबर ब्युरोले प्राविधिक पाटो हेरिरहेको छ भने अर्कातर्फ अडियोले दिएको सन्देशलाई प्रमाणित गर्ने कुनै आधार फेला पर्छ कि भनेर अनुसन्धान भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसकै लागि पूरक निवेदन लिइएको हो, उहाँलगायत अडियोमा उल्लेख भएका व्यक्तिहरूबारे अनुसन्धान हुन्छ।’

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्चमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं कांग्रेस नेत्री आरजु राणा देउवा पनि संलग्न भएको अडियो सार्वजनिक भएपछि त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार छोरा प्रतीक पक्राउ नपर्दा स्पष्ट ‘कनेक्सन’ नभेटेर पूर्वगृहमन्त्री थापा जोगिएका हुन्। ‘छोरा पक्राउ परे उनको बयान वा उनले प्रयोग गरेका ग्याजेटका आधारमा केही तथ्य खुल्थे,’ स्रोतले भन्यो, ‘छोरा फरार छन्, उनको खोजी भइरहेको छ।’

काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले साइबर ब्युरोले आफ्नो प्राविधिक काम गरिरहेको हुन सक्ने बताए।

‘साइबर ब्युरोमा उहाँले दिएको उजुरीअनुसार काम भएको होला, कहाँ के कसरी बाहिर आयो, कसले ल्यायो, नक्कली हो कि सक्कली भन्ने बारेमा प्राविधिक पाटो हेरिएको हुन सक्छ तर हामीले अडियोमा आएको आवाज र बाहिर हल्ला चलेको विषयमा पनि  सूक्ष्म अनुसन्धान गरिरहेका छौं, प्रमाणित हुने आधार फेला परे कानुनले अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीलाई दिएको छ,’ परिसर प्रमुख एसएसपी कार्कीले भने।

काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले साइबर ब्युरोले आफ्नो प्राविधिक काम गरिरहेको हुन सक्ने बताए।

कांग्रेस नेत्री आरजु मात्र होइन, पूर्वगृहमन्त्री बालकृष्ण खाण पत्नी एवं सांसद मन्जु खाणलाई लागेको चार्जले पनि सहजै छुट पाउने अवस्था छैन। शुक्रबार संसद् बैठकमा मन्जु खाण उपस्थित भए पनि प्रहरीले उनलाई उन्मुक्ति दिएको आभास भएको छ। उनी निर्धक्कसाथ  संसद्मा उपस्थित भएकी थिइन्। पति खाणलाई हिरासतमा भेट्न नगए पनि संसद्मा भने मन्जु उपस्थित भएकी थिइन्। संसद्मा उनको उपस्थितिलाई प्रहरीले छुट दिएको भनेर पनि विश्लेषण गरिएको छ।

कांग्रेस नेत्री आरजु मात्र होइन, पूर्वगृहमन्त्री बालकृष्ण खाण पत्नी एवं सांसद मन्जु खाणलाई लागेको चार्जले पनि सहजै छुट पाउने अवस्था छैन।

हाई प्रोफाइल संलग्न रहेको भन्दै अडियो सार्वजनिक हुँदा पनि उनीहरूलाई कुनै छानबिन नहुनुले मिलेमतोमै छुट दिइएको हो कि भन्ने आशंका जन्मिएको छ। सार्वजनिक भएका ती अडियोमा कांग्रेस नेत्री एवं प्रतिनिधिसभा सदस्य आरजु, पूर्वगृहमन्त्री खाणकी पत्नी मन्जु मुछिएकी छन्। गिरोहका सदस्यहरूले दिएको अडियोकै आधारमा पूर्वगृहमन्त्री खाण, पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी टेकनाथ रिजाल लगायतलाई पक्राउ गर्दा पनि अडियोमा मुछिएका हाई प्रोफाइलवाला पात्रले छुट पाएका छन्। प्रहरीले उनीहरूलाई सामान्य सोधपुछ पनि गरेको छैन। पक्राउ परेका व्यक्तिहरूका सवालमा प्रमाण जुटाउन भए पनि प्रहरीबाट सामान्य सोधपुछ हुनुपर्नेमा उनीहरूले छुट पाएका छन्। सो अडियो सार्वजनिक भएपछि आरजुले संसद्मा आफ्नो बचाउ गर्दै एउटी महिलाले राजनीतिमा गरेको प्रगति देखिनसहेको बताएकी थिइन्। उनले त्यसबारे विभिन्न विद्युतीय सञ्चारमाध्यममा अन्तर्वार्ता दिएकी थिइन्।

त्यति मात्र होइन, भुटानी शरणार्थीको आवरणमा भएको ठगी प्रकरणमा बाहिरिएको अडियोको सत्यतथ्य जाँच गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। वैशाख २७ गते बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा लिखित उजुरी दिँदै उनले अडियोको सत्यतथ्य तत्काल सार्वजनिक गरेर दोषीमाथि कारबाहीको माग गरेकी थिइन्।

‘विभिन्न सञ्चारमाध्यममा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरोसमेत नाम जोडी कुराकानी गरिएको अडिओ रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन्? उक्त अडियोबारे अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही होस्,’ उजुरीमा भनिएको थियो। तर प्रहरीले यो विषयमा खासै प्रक्रिया अघि बढाएको छैन। साइबर ब्युरोमा उजुरी गरेको एक साताभन्दा बढी भए पनि ब्युरोले त्यो अडियो कसले कहाँबाट कसरी सार्वजनिक भयो भन्नेबारे केही पत्ता लगाउन सकेको छैन। आरजुको माग पनि त्यही थियो, त्यो अडियो कसले कुन प्रयोजनका लागि र कहाँबाट प्रसारण गरेको हो, त्यसको प्राविधिक अनुसन्धान गरिपाऊँ भन्ने उनको उजुरीमा उल्लेख छ। तर प्रहरीले प्राविधिक अनुसन्धान गरे पनि त्यसको परिणाम दिन सकेको छैन।

साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले त्यो उजुरीबारे ब्युरोले अनुसन्धान गरिरहेको बताए। उनले प्राविधिक पक्षको मात्रै अनुसन्धान गर्ने भएकाले अडियोमा आएका नाम र तथ्यबारे भने काठमाडौं परिसरले अनुसन्धान गरिरहेको बताए।

‘हामीले प्राविधिक पक्षको मात्रै अनुसन्धान गरिरहेका छौं, सामाजिक सञ्जालको सर्भर नेपालबाहिर छ। त्यहाँ पत्राचार गर्दा केही समय लाग्छ। त्यो अडियो कसले कहाँबाट प्रसारण गरेको हो भन्ने पक्षलाई ध्यान दिएर अनुसन्धान गरिरहेका छौं,’ एसपी रायले भने। तर अन्य व्यक्तिले भने त्यसरी अडियो परीक्षणका लागि साइबर ब्युरोलाई उजुरी गरेको पनि पाइएको छैन, न त सार्वजकि रूपमा खण्डन नै गरेका छन्। रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी हुँदा पनि उनले एक शब्द कतै बोलेका छैनन्। ‘छोराको नाममा पक्राउ पुर्जी जारी छ, बाबु चुपचाप छन्, नबोलेरै जित्ने अवस्था छैन,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने।

प्रकाशित: ८ जेष्ठ २०८० ००:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App