१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

देशको संस्कृति र राष्ट्रियतामाथि अतिक्रमण भइरहेको छः नेता खनाल

नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको संस्कृति र राष्ट्रियतामाथि अतिक्रमण भइरहेको बताएका छन्।

आइतवार नेकपा(एकीकृत समाजवादी)ले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धी, चुनौति र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै सम्मानित नेता खनालले देशको संस्कृति माथि अन्तर्राष्ट्रिय क्षेत्रबाट अतिक्रमण भइरहेको बताएका हुन्।

उनले देशमा सांस्कृतिक संकट गहिरिदै गएको बताए। पछिल्लो समय कुनै निश्चित धर्मको नाममा ठूला–ठूला भवनहरु बनेको भन्दै उनले आश्चर्य प्रकट गरे। त्यसैगरी देशको राष्ट्रियता पनि संकटमा परिरहेको उनले बताए। सम्मानित नेता खनालले विदेशी सैनिकहरु नेपाल आएर नेपाली सैनिकलाई प्रशिक्षण दिइरहेका भन्दै त्यसको आवश्यकतामाथि प्रश्न उठाए। उनले विदेशी सेनालाई नेपालमा ल्याउन कसले प्रोत्साहन गरिरहेको छ भनि प्रश्न गरे।

उनले भने, ‘देशमा आर्थिक संकट छ। सांस्कृतिक संकट झन् गहिरिँदै छ। हाम्रा राष्ट्रिय संस्कृति जो भन्छौँ नि यो राष्ट्रिय संस्कृतिका बिरुद्ध अन्तर्राष्ट्रिय क्षेत्रबाट सांस्कृतिक अतिक्रमण भयावह ढंगले अहिले प्रवेश गरिरहेको छ। म भयावह किन भन्छु भने पछिल्लो पाँच वर्षमा भयानक परिवर्तन भइरहेको छ। यति ठूल्ठूला भवनहरु बनेका छन् एउटा निश्चित धर्मको नाममा। अचम्म छ यो तीन, चार वर्षभित्रमा कत्रो लगानी भएछ देशभरी विचित्रको कुरा छ। सांस्कृतिक संकट पनि बढ्दो छ । राष्ट्रियतामाथि व्यापक अतिक्रमण भइरहेको छ। विदेशीहरुका सैनिक टुकडीहरु यहाँ महिना महिनामा आएर नेपाली सेनालाई प्रशिक्षण दिन्छन्। कति जरुरतको कुरा हो त्यो? कति छलफल गरेर हामी यो काम गराइरहेका छौँ? हाम्रो नेतृत्वले कति गम्भिरतापूर्वक यि कुरालाई लिइरहेको छ? मेरा प्रश्नहरु छन्। यो जरुरत हो कि होइन ? आजसम्म पनि नेपाली सेना त छ त। नेपाली सेनाले देश त बचाएरै राखेको छ। अनेकन महाशक्तिहरुका टुकडी यहाँ ल्याउनुपर्ने आवश्यकता किन परिरहेको छ? के ले यिनीहरुलाई यस्तो प्रोत्साहन गरिरहेको छ? राष्ट्रियतामाथिको संकट यसरी खतरामा छ।’

उनले देशको समस्याहरु समाधान गर्नका लागि विचार मिल्ने वामपन्थी शक्तिहरु एकतावद्ध हुनुपर्ने बताए।  

प्रकाशित: १० वैशाख २०८० ११:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App