२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्माणाधीन अपार्टमेन्टहरुको वैधानिकता खोजी गरियोस्: तोसिमा कार्की

फाइल तस्बिर।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले देशभर बनाईरहेका होटलहरु, भवनहरु र अपार्टमेन्टहरुको तत्काल वैधानिकता खोजी गर्न सरकारसँग माग गरेकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ललितपुरको बखुन्डोलमा निर्माणाधीन समिट अपार्टमेन्टको वैधानिकता नरहेको उल्लेख गर्दै सरकारले त्यस्ता बन्दै गरेका सबै अपार्टमेन्ट, भवन र होटलहरुको वैधानिकता खोजी गर्नुपर्ने बताएकी हुन्। सांसद कार्कीले त्यसका लागि छानबिन गर्न संसदीय समिति बनाउन पनि माग गरिन्।

उनले समिट अपार्टमेन्ट निर्माणको क्रममा वरपर भाँसिएका घरहरुको उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराइन्।

सांसद कार्कीले भनिन्, ‘ललितपुरको बखुन्डोल हाईटमा १८ रोपनी जग्गामा १६ तले समिट अपार्टमेन्ट बनाईरहँदा विना नक्सा पास, विना इआईए, विना स्थानीयको स्वीकृति बन्दै गर्दा वरपरको घरहरु पूर्ण रुपमा क्षति भएका छन्। भासिने, चर्कने क्रम जारी छ। स्थानीयहरूले पटक पटक उजुरी दिए पनि काम नरोकिएको गुनासो गरेका छन्। अघिल्लो संसद् बैठकमा पनि कुरा उठ्यो। तर, वैधानिक प्रक्रिया अघि बढेको छैन। सभामुख महोदय, म आग्रह गर्न चाहन्छु–यसरी देशभर बनाईरहेका होटलहरु, भवनहरु, अपार्टमेन्टहरुको वैधानिकता खोजी गरियोस्। संसदीय समिति बनाई कन यसको छानबिन प्रक्रिया अघि बढाइयोस्। दोषीलाई कारबाही, पीडितलाई क्षतिपूर्ति र संरक्षण गर्नुपर्ने व्यवस्था आजैबाट सुरु गरियोस्।’

सांसद कार्कीले समिट अपार्टमेन्टको निर्माण कार्य तत्काल रोकी छानबिनको कामलाई तत्काल अघि बढाउन पनि सरकारलाई दबाब दिएकी छन्।

प्रकाशित: २९ चैत्र २०७९ ०८:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App