२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकार मूलभूत रूपमा पूर्ण भयो, अब देशले गति लिन्छ : प्रधानमन्त्री

फाइल तस्वीर

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार मूलभूत रूपमा पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताएका छन्।

शुक्रवार रिपोर्टस क्लब नेपालको २५औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। 

दाहालले देश अहिले आर्थिक रूपमा अप्ठ्यारो स्थितिबाट गुज्रेको भए पनि श्रीलङ्का बन्ने स्थितिमा नरहेको दाबी गरे। उनले आफूले तेस्रो कार्यकालका रूपमा प्रधानमन्त्री भएर लगभग १ सय दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा सुधार गर्न सकिने अनुभव गरेको बताए। 

उनले तीन महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको बताए। प्रधानमन्त्री दाहालले तीन महिनामा रेमिटेन्स, राजश्व सङ्कलनमा गुणात्मक सुधार भएको दाबी गरे। उनले पछिल्लो तीन महिनामा विदेशी मुद्रा सञ्चितमा देश धेरै राम्रो स्थितिमा आइसकेको पनि बताए।

उनले भने ‘अहिले नयाँ नयाँ राजनीतिक समीकरण बनिरहेको छ। आज मात्रै सरकारलाई पूर्णता दिने क्रममा हामी मूलभूत रूपमा सरकार पूर्ण भएको छ, अब यसले गति लिनुपर्छ। हो देश अहिले आर्थिक रूपमा अप्ठ्यारो स्थितिबाट गुज्रेको छ। राजनीतिक स्थायित्वको कुरा पनि छ। सुशासनको कुरा पनि छ। मेरो १ सय दिन पुग्दा नपुग्दैको अनुभवले के भनेको छ भने निजी र सार्वजनिक क्षेत्रको प्रभावकारी र परिणामकारी सहकार्यको कुरा गरेको छु। सुशासन कायम गर्नको लागि लामो लामो लाइन बस्ने, राहदानी, लाइसेन लगायत अन्य कुराको लाइनलाई घटाउन काम भएको छ। सुधार भएको मसँग अनुभव छ यो १०० दिनमा र सुधार गर्न सकिन्छ भन्ने विश्वास झनै बढेको छ। अर्थतन्त्रको स्थितिमा गएको तीन महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको छ, करिब गुणात्मक, राजश्व सङ्कलनमा धेरै सुधार भएको छ करिब गुणात्मक, विदेशी मुद्रा सञ्चितमा त हामी निकै राम्रो स्थितिमा आइसकेका छौँ।’

प्रधानमन्त्री दाहालले देशको आर्थिक अवस्था बरबाद हुन लाग्यो भन्ने ठाउँमा नरहेको बताए। 

प्रकाशित: १७ चैत्र २०७९ १२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App