१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

मन्त्रिपरिषद् विस्तार लगायत विषयमा सत्ता साझेदार दलहरूबीच आज बिहान छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरूबीच सहमति भएको जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल गृह जिल्ला चितवन गएकाले छलफल पुनः अपराह्न २ बजे हुने बताइएको छ। ‘जुनजुन दलको तर्फबाट मन्त्रिपरिषदमा सहभागी हुने व्यक्तिको नाम टुङ्गो लागेको छ, उहाँहरू पुनः आउनु परेन। जसको टुङ्गिएको छैन, उहाँहरूले पुनः संस्थागत रूपमा निर्णय गरेर आउने सहमति भएको छ’, नेता श्रेष्ठले भने।

प्रधानमन्त्री दाहालले नै अग्रसरता लिएर केही दलका तर्फबाट सरकारमा सहभागी हुनेको नाम करिब टुङ्गो लगाइदिएको बताउँदै नेता श्रेष्ठले सबै विषयमा मतैक्य भए आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए। ‘कुन दलले के कति मन्त्रालय लिने भन्नेबारे सहमति भएको छ। त्यसलाई संस्थागत रूपमा निर्णय गरौं भनिएको हो’, उनले भने।

बुधबारको बैठकमा नै नेपाली कांग्रेसले आठ, नेकपा ( माओवादी केन्द्र)ले पाँच, नेकपा (एकीकृत समाजवादी) र जसपाले दुईदुई मन्त्रालय लिने सहमति भइसकेको छ। अन्य दलले एकएक मन्त्रालय लिने तय भएको छ। बैठकमा सत्ता साझेदार दलका शीर्ष नेताको सहभागिता थियो। रासस

प्रकाशित: १६ चैत्र २०७९ ०५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App