८ वैशाख २०८१ शनिबार
राजनीति

मानवअधिकार आयोगलाई बलियो बनाउँछुः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने जानकारी दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज  आयोगका पदाधिकारीहरूसँगको भेटमा उनले आयोगलाई बलियो बनाउने आफ्नो प्रयत्न रहने बताएका हुन्।

प्रधानमन्त्री दाहालले भने, ‘नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि राष्ट्रिय मानवअधिकार आयोगको स्थितिबाट नापिन्छ। आयोग कस्तो छ, यो कति शक्तिशाली छ, साधनस्रोतले कति सबल छ भन्ने कुराले नेपालको मानवअधिकारको स्थिति के छ? भन्ने कुरा मापन हुन्छ। तसर्थ, आयोगलाई शक्तिशाली र साधनस्रोत सम्पन्न बनाउने कुराको सबैभन्दा ठूलो महत्व र भूमिका छ।’

 लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने कुरामा आफू गम्भीर रहेको जनाउँदै उनले आयोगका सातवटै प्रदेशका संरचना पनि बलियो बनाएर लोकतन्त्र, कानुनी राज्य र जनताको मानवअधिकारलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताए। ‘यो सरकार मानवअधिकारप्रति संवेदनशील छ’, उनले भने।

 भेटमा आयोगका पदाधिकारीहरूले सङ्घीय संरचनाअनुसार आयोगको पुनर्संरचना आवश्यक रहेको, साधनस्रोत र पर्याप्त बजेटका निम्ति सरकारसँग सहयोगको अपेक्षा गरिएको जनाउँदै आयोगका निम्ति आवश्यक पर्ने ऐनहरू र नियमावली निर्माणलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। छलफलमा प्रधानमन्त्रीले आयोगका सबै माग र ध्यानाकर्षण आफूले योजनाबद्ध रूपमा पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

प्रकाशित: ३ फाल्गुन २०७९ १०:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App