२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

शिक्षा क्षेत्रमा सुधार आवश्यक छ: नेता पौडेल

फाइल तस्बिर।

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा क्षेत्रमा सुधारको खाँचो रहेको बताएका छन्।

टोखा नगरपालिका–६ मा सञ्चालित एशिया प्यासिफिक स्कुलको प्रथम अभिभावक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुकको विकासका लागि नेपालको शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको बताएका हुन्।

'राज्यले शैक्षिक प्रणालीमा परिवर्तन गर्न आवश्यक छ, विद्यालय र विश्वविद्यालयमा धेरै विद्यार्थी राखेर भद्रगोल बनाउनुभन्दा कम विद्यार्थी राखेर गुणस्तरीय शिक्षा प्रदान गर्नसके नेपालको शिक्षा क्षेत्रमा सुधार हुन्छ,' उनले भने। गुणस्तरीय शिक्षा प्रदान गर्न सरकारीभन्दा निजी विद्यालय अब्बल रहेको उनको भनाइ थियो।

काठमाडौँ क्षेत्र नं ५ का सांसद पौडेलले नेपालको शिक्षा नीतिलाई कस्तो बनाउने भन्नेबारे सरोकारवालाबीच गम्भीर बहस आवश्यक रहेको बताए। दक्षजनशक्ति उत्पादन गर्न नसक्ने विश्वविद्यालय मुलुकको लागि काम नभएको उनको भनाइ थियो। नेता पौडेलले समाजलाई नेतृत्व गर्ने हतियार र बल नभएर विचार भएको उल्लेख गरे। टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाले पछिल्लो समय प्राविधिक शिक्षालाई जोड दिन लागेको बताए। 

उनले प्राविधिक शिक्षा सुरु गर्ने टोखा नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई एक करोड अनुदान रकम उपलब्ध गराउने घोषणा समेत गरेका छन्।

निजी विद्यालयले पनि प्राविधिक शिक्षालाई अगाडि बढाए नगरपालिकाले सहयोग गर्ने उनको भनाइ थियो।

प्रकाशित: २८ माघ २०७९ १४:३८ शनिबार

प्रदीप पौडेल