८ वैशाख २०८१ शनिबार
राजनीति

‘उप’ लाई ‘सुपर’ बनाउने अभियानमा उपसभामुख मगर

विकास बोर्डको बैठकमा सहभागी हुँदै उपसभामुख मगर। तस्बिर: महेश्वर

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले महिलाहरुलाई ‘उप’ पदमा राखेर ‘चुप’ लाग्ने बनाइएकोमा असन्तुष्टि जनाउँदै उनीहरुलाई सक्षम र सक्रिय बनाउन अभियान चलाउने बताएकी छिन्। उपसभामुख चयन भएपछि देश दौडाहामा रहेकी उनले मंगलबार उदयपुृरमा आयोजित एक कार्यक्रममा सो कुरा बताएकी हुन्।

उपसभामुख मगरले त्रियुगा नगरपालिकामा आयोजित ‘उदयपुृर विकास बोर्ड’को बैठकमा बोल्दै ‘उप’ महिलाहरुलाई ‘सुपर’ अनाउने अभियानमा आफु लागिरहेको बताईन्। मगरले नेपाली राजनीतिमा महिलालाई ‘उप’मा थन्क्याएर ‘चुप’ लाग्न बाध्य गराइदै आएको भन्दै उपमै रहेर पनि महिलाहरुले राम्रा र महत्वपूर्ण काम गर्न लागी पर्नुपर्नेमा जोड दिइन्। महिलाहरुलाई ‘चुप’ लागुन भनेर उपमा थन्क्याउने गरे पनि अव उपहरु चुप नबस्ने भन्दै  सक्रिय भएर पुरुषसमान काम गरेर देखाउन हौसला दिईन्।  

‘यहाँ उप जत्ति महिलालाई दिएर चुप बनाउन खोजेको पाइन्छ’ उपसभामुख मगरले गुनासो गरिन् ‘तर, महिलाहरु पनि पुरुषभन्दा कम छैनन् भन्ने देखाउन सबै उपहरु सक्रियताका साथ लाग्नुपर्छ। गरेर देखाउने ठाउँ पाइएको छ।’ आफु उपसभामुख भएकोमा खुसी रहेको र सभामुखसँग समन्वय गरेर प्रतिनिधिसभाको गरिमा उचो बनाउँदै जनताको काममा समर्पित भएर लाग्ने प्रतिबद्धता जनाईन्।

मगरले विकास निर्माण भनेको भौतिक संरचना र पूर्वाधार निर्माण मात्र नभएर सामाजिक रुपान्तरण पनि भएको बताईन्। उनले विकासको नाममा पूर्वाधार र भौतिक संरचना निर्माणमा मात्र प्राथमिक्ता दिदै आएकोप्रति असन्तुष्टि ज नाईन्। पूर्वाधार र भौतिक संरचनासँगै सामाजिक रुपान्तरण पनि विकासको अभिन्न अंग भएकोमा उनको  जोड थियो। गाउँघरमा महिला हिंसा, घरेलु बेमेल, बालअधिकार हनन्, छुवाछुत र भेदभाव जस्ता बिसंगतिहरु अझै व्याप्त रहेको भन्दै उनले त्यसप्रति ध्यान नदिएर विकास निर्माणको नाममा सडक, बाटो, खानेपानी र कुलो भवनहरु मात्र निर्माणमा ध्यान दिइरहेको उनको भनाई थियो।

सडक, विद्युत, खानेपानी, भवनजस्ता कुराहरुसँगै लैंगिक समानता, सामाजिक न्याय, घरेलु हिंसाको अन्त्य, बालबालिका तथा महिला अधिकारको ग्यारेन्टी तथा शिक्षा, स्वास्थ्य र रोजगारीको सिर्जनाबारे जनचेतना जगाउनु पनि विकासकै अर्को हिस्सा भएको उनले बताईन्। त्यसैले त्यतातर्फ पनि सरकार, जनप्रतिनिधि र सामाजिक अगुवाहरुले ध्यान दिनु पर्ने उनले बताईन्।  

जिल्लाको चौदण्डीगढी नगरपालिका ८ को पहाडी भूभागमा पर्ने बेसारे बस्तीको स्थलगत अवलोकन गरेर फर्केकी उपसभामुख मगरले सडकको अवस्था राम्रो नभएकाले त्यहाँका गर्भवति महिलाहरु सुत्केरी गराउन अस्पताल लाने एम्बुलेन्ससम्म जान नसक्ने स्थिति देखेर अचम्म लागेको बताईन्। त्यस्ता ठाउँमा तत्काल सडक बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराईन्। बालबालिकाले सहज रुपमा शिक्षा र स्वास्थ्य सेवा पाउन सकेका छन् छैनन्, गर्भवतिले गर्भ जाँचदेखि सुत्केरीसम्मको अवस्थामा पाउनुपर्ने सेवा सुविधा पाए नपाएको बारे पनि जनप्रतिनिधिले ध्यान दिनुपर्ने उनको सुझाव थियो।  

उदयपुर विकास बोर्डको तर्फबाट त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेत, कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ, चौदण्डीगढी नगरप्रमुख कालुमान तामाङलगायत स्थानीय जनप्रतिनिधिले उपसभामुख मगर र प्रदेश १ की उपसभामुख सिर्जना दनु्वारलाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए। उपप्रमुख महेश्वरी राईले स्वागत भनाई राखेको कार्यक्रममा  

उदयपुर विकास बोर्डले गर्न खोजेका कार्यक्रम र योजनाहरुको विषयमा त्रियुगाका मेयर बस्नेतले प्रष्ट्याएका थिए।  

जिल्लाका ८ वटै स्थानीयतहका प्रमुख तथा उपप्रमुख सदस्य रहने विकास बोर्डको गठन ०७५ सालमा भएको थियो। तत्कालीन त्रियुगाका मेयर बलदेव चौधरीको अध्यक्षतामा बेलका नगरप्रमुख सदस्य सचिव र अन्य ६ वटा स्थानीयतहहरु सदस्य रहने व्यवस्था रहेको बोर्डले कोविड कहरमा सावधानी, उद्धार र उपचार सेवाका बेला महत्वपूर्ण भूमिका खेलेको थियो। कोविडबाट बँच्न तथा उपचारार्थ क्वारेन्टाईन, आईसोलेसन र अस्पताल बनाउन प्रदेश र संघले रकम माग्दा नपाएपछि बोर्डले स्थानीयतहहरुकै पहलमा अग्रसरता लिएका थिए।  

जस अनुसार समितिमा आबद्ध ४ नगरपालिकाले वर्षेनी २० लाखका दरले ३ वर्षमा २ करोड ४० लाख र ४ गाउँपालिकाले ४० लाखका दरले १ करोड ६० लाख गरी ४ करोड लागतमा चौदण्डीगढी नगरपालिका ६ सातधारेमा कोविड अस्पताल निर्माण भएको थियो। ०७६ को चर्को कोविडकालमा बोर्डले १ करोड लागतमा सुरु गरेको अस्ताल भवन निर्माणमा दोस्रो वर्ष ३ करोड वैदेशिक अनुदानले भवन सम्पन्न भएको थियो। भवन बनेपछि अन्य यन्त्र उपकरण र व्यवस्थापनका लागि स्थानीयतहहरुले थप रकमको जोहो गरेपछि उदयपुरलगायत बिभिन्न जिल्लाका कोविड बिरामीले सहज उपचार सेवा पाएका थिए।

प्रकाशित: १८ माघ २०७९ ११:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App