५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

किन रोकियो संस्थापन इतरको भेला ?

नेपाली कांग्रेसका संस्थापन इतर पक्षको भेला राष्ट्रपति निर्वाचन नहुँदासम्मका लागि स्थगित भएको छ। निकटहरुको साझा धारण बनाउनका लागि आइतबार सुरु भएको संस्थापन इतरको नेताहरूको भेला मंगलबार बिहानका लागि तय गरिएको थियो। तर, आइतबारको भेलामा डा. शेखर कोइरालासहितका केही नेताहरुको भनाइ बाहिर बङ्ग्याएर आएको भन्दै इतर पक्षका नेताहरूले तत्काल भेला आयोजना नगर्ने निष्कर्ष निकालेका हुन्।

राष्ट्रपति निर्वाचनपछि मात्र संस्थापन इतर नेताहरूले निकटहरुको भेला गर्ने तयारी गरेको छ। ‘दाहाल (पुष्पकमल दाहाल)लाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर गल्ति भयो भनेर शेखर कोइरालाले भन्नु भएको थिएन तर सञ्चारमाध्यमा त्यस्तो समाचार आयो,’ निकट एक नेताले भने,‘भित्र एउटा कुरा भएको छ बाहिर अर्को आउँदा राम्रो सन्देश पनि नगएकाले राष्ट्रपति चुनावपछि मात्र बस्नेगरी मंगलबारका लागि तय गरिएको भेला स्थागित गरिएको छ।’

सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा नेता कोइरालाले दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर गल्ति भयो भन्ने आफ्नो भनाइएको आशय नभएको धारणा राखेका थिए। आफू निकट नेताहरुको भेलामा कोइरालाले ‘तटस्थ बस्ने प्रस्ताव मैले कार्यसम्पादन समितिमा राखेको थिए, त्यसको सुनुवाइ भएन’ भन्ने धारणा राखेका थिए।

दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको ठिक कि बेठिक भन्ने बहसले राष्ट्रपति निर्वाचनमा असर पर्ने संस्थापन इतरका नेताहरुको बुझाइ रहेको जानकारी दिँंदै ती सदस्यले भने,‘राष्ट्रपति निर्वाचन अघि यस्ता भेलाहरु नगर्ने भन्ने भएको छ।’ संस्थापन इतर पक्षले मुलुक र पार्टीको पछिल्लो अवस्थाका विषयमा कसरी अघि बढ्ने भनेर छलफल सुरु गरेको बताए। संस्थापन इतर पक्षले मुलुक र पार्टीभित्र देखिएको अहिलेको अवस्थाका साथै भ्रातृ संगठनलाई पूर्णता दिने विषयमा पनि धारणा बनाउने बताइएको थियो। पार्टी केन्द्रीय समितिको बैठक पनि राष्ट्रपति निर्वाचन अघि नबस्ने नेताहरुबीच समझदारी बनेको ती नेताको दाबी छ। राष्ट्रपतिमा कांग्रेसले रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहितका नेताहरु मध्यबाट अघि सार्ने तयारी गरेको छ।

मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समिक्षाका साथै पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न कांग्रेसले माघ १५ गतेका लागि मिति तोकेको छ। तेस्रो पटक तोकिएको उक्त मितिमा पनि केन्द्रीय समिति बैठक नबस्ने ती नेताको दाबी छ। पार्टी प्रवक्ता प्रकाशशरण महतले बैठक केहीदिन सार्ने की भन्ने कुरा चलेपनि निर्णय भइनसकेको बताए।

प्रकाशित: १० माघ २०७९ १३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App