coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ह्यारी की प्यारी फिल्मका कलाकारले हर्क साम्पाङलाई दिए सय वटा रुद्राक्षको विरुवा

मेयर हर्क साम्पाङलाई रुद्राक्षको विरुवा हस्तान्तरण गर्दै ह्यारी की प्यारी फिल्मका कलाकार तथा निर्माण टिम। तस्बिर: रोहित राई

नेपाली चलचित्र ह्यारी की प्यारी माघ २० गते रिलिज हुदैछ। फिल्मको प्रचारको लागी निर्माण र कलाकार टोली देश दौडाहामा छन्।

फिल्ममा हाँस्य अभिनेता मुन्द्रे अर्थात जितु नेपाल ह्यारीको भुमिकामा छन् भने अभिनेत्री साम्राज्ञी हिरोइन प्यारीको भुमिकामा छिन्। यो फिल्मको प्रचार गर्दै धरान आइपुगेको टोलीले बिहिबार फरक शैलीमा प्रचारको काम गर्यो। कलाकारहरु साम्राज्ञी, जितुसँगै कलाकार विजय वराल, निर्देशक डा.कपिल रिजाल, फिल्मका लेखक तथा कार्यकारी निर्माता सुदिप बराल बिहानै श्रम सँस्कृति पार्कमा पुगे। त्यहाँ उनीहरुसँगै मिसिए, क्याप्टेन तथा कलाकार विजय लामा, चर्चित मोडल एलिशा राई र निर्देशक मिलन चाम्स।

सुनसरीको झुम्कामा आयोजित आदिबासी चलचित्र महोत्सवमा सहभागी हुन आएका क्याप्टेन लामा, मेडल राई र निर्देशक चाम्स पनि मेयर हर्क साम्पाङ भेट्न बिहानै श्रम सँस्कृति पार्कमा पुगे। कलाकारहरुको टोलीले मेयर साम्पाङसँग भेट मात्र गरेनन्, वृक्षारोपण अभियानमा समर्थन जनाउदै एक सय वटा रुद्राक्षको विरुवा पनि प्रदान गरे। ह्यारी की प्यारीका कार्यकारी निर्माता बरालले मेयर साम्पाङको कामलाई सम्मान गर्दै रुद्राक्ष विरुवा प्रदान गरिएको बताए। 

निर्देशक रिजालले माया के हो, र कर्तव्य के हो भन्नेमा आधारित भएर राम्रो फिल्म बनाएको बताए। उनले धरानसँग आफ्नो साइनो रहेको खुलाउदै आफ्नो बुबा जन्मिएको र आफु पनि धरानमै पढ्दै हुर्किएको पनि बताए। ‘मेयर साबले जुन काम गरिरहनु भएको छ, अत्यन्तै राम्रो छ। यहाँ आउदा साना विरुवा देख्यौ, हामी नरहे पनि यी रुखहरु रहन्छ, त्यसैले उहाँलाई के दिउ भन्दा रुख उपहार दिने कुरा भयो,’ उनले भने। नायिका साम्राज्ञीले मेयर साम्पाङको राम्रो कामलाई सपोर्ट गर्न आएको भन्दै माघ २० गते रिलिज हुने फिल्म हेरिदिन र नेपाली फिल्मलाई माया गर्न सबैलाई आग्रह पनि गरिन्।  

नेपाल वायुसेवाका क्याप्टेन तथा कलाकार विजय लामाले देश बनाउनठुलो योजना, ठुलो भाषण र कार्यक्रम चाहिदैन भन्ने प्रमाणित मेयर साम्पाङले गरिरहेको बताए। ‘सानो तर प्रवल इच्छा र सत्यतामा आधारित सोच राख्यो भने हुदो रहेछ, जनताले विकास चाहन्छ, सत्य चाहन्छ भन्ने प्रमाणित भएको छ,’उनले भने,‘नेपाली चलचित्रलाई माया गरिदिनुस्, सबैलाई यही आग्रह गर्छु।’ निर्देशक मिलन चाम्सले पनि नेपाली फिल्मलाई माया गरिदिन आग्रह गर्दै ह्यारी की प्यारी चलचित्र धेरै उत्कृष्ट बनेको बताए।

यस्तै, कलाकार जितु नेपालले आफुहरु रिलको हिरो र मेयर हर्क साम्पाङ रियल हिरो भएको बताए। ‘हामी रिलको हिरो, मन नलागे नहेर्न सकिन्छ, हेरेर मन परे पनि २ घण्टामै सकिन्छ,’उनले भने,‘मुन्द्रेको कमेडी क्लब सिजन ३ लिएर आउदैछु, अतिथिमा मेयर साबलाई बोलाउन चाहन्छु। मेयर साब सामाजिक सञ्जालमा पनि सक्रिय हुनुहुन्छ, हयारी कि प्यारी हेरेर शुभकामना दिनुहोला, कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला।’

मेयर साम्पाङले जनताको समस्या (खानेपानी) लाई मुख्य एजेण्डा बनाएर आएको भन्दै जहिल्यै पनि काम गरिरहनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए। ‘श्रम गरेर काम गर्यौ, यसको केही फाइदाहरु छ।श्रमदान हुदा समाज बनाउदैछौा। अर्को, सरकारको मुख ताकेर मात्र विकास हुदैन, आफैले पनि गर्नुपर्छ भनेर देखाएका छौं। रेडबुकमा परेको योजना बाहेक श्रमदान गरेर काम गर्दा छिटो पनि सकिएको छ। तेस्रो फाइदा शारीरिक श्रम गर्दा स्वास्थ्य पनि राम्रो हुन्छ,’उनले भने,‘फिल्म राम्रो र सन्देशमुलक बनेको छ भन्ने अपेक्षा लिएको छुँ। सफलताको शुभकामना पनि दिन्छुँ।’

प्रकाशित: ५ माघ २०७९ १४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App