७ वैशाख २०८१ शुक्रबार
राजनीति

लुम्बिनी प्रदेश: सत्ता नेतृत्व नजिक एमाले

क्षणभरकै सत्ता गठबन्धनको ‘उलटपलट’ ले नेकपा एमालेलाई लुम्बिनी प्रदेशमा सत्ता–नेतृत्वको निकट पुर्याइदिएको छ।  प्रदेशको पहिलो कार्यकालको सुरुवाती नेतृत्व लिएको एमालेले दोस्रो कार्यकालको सुरुवाती नेतृत्व पनि आफ्नो पक्षमा पार्ने सम्भावना धेरै छ। 

माओवादी, एमालेलगायत दलहरुको गठबन्धन अहिले यो प्रदेशको सत्ता समिकरण निर्माणको कसरतमा छन्।  यसअघि एमाले तत्कालीन सत्ता गठबन्धन कायम रहने र आफू प्रतिपक्षमै बस्ने मनस्थितीमा पुगिसकेको थियो।  तत्कालीन सत्ता गठबन्धनबाट यो सरकारको नेतृत्वमा नेपाली कांग्रेस र माओवादी दाबेदार थिए।  तर गठबन्धन भाँडिएसंगै सरकारको नेतृत्वको दाबीले फरक मोड लियो।  

मूलतः अहिले सरकारको नेतृत्वको दाबेदारमा प्रदेश संसदको पहिलो दल नेकपा एमाले र तेस्रो दल माओवादी छन्।  तर केन्द्रीय सत्ता गठबन्धनको प्रारुपले यो प्रदेशको सत्ता नेतृत्व एमालेको हातमा पुग्ने सम्भावना देखिएको माओवादीका एक सांसद बताउँछन्।  

उनका अनुसार बागमती प्रदेश र कर्णाली प्रदेशको नेतृत्वका लागि माओवादीले बढि चासो राखेको छ।  ‘दुईवटा प्रदेशको नेतृत्व प्राप्त गर्ने सवालमा माओवादीले बागमती र कर्णालीलाई आफ्नो रोजाईमा पार्ने सम्भावना बढि देखिएको छ,’ति सांसदले भने ‘केन्द्रले नै यो खालको तयारी गरिरहेका कारण लुम्बिनी प्रदेशको नेतृत्व एमालेको भागमा पर्ने उच्च सम्भावना देखिएको छ। तथापी यो प्रदेशको नेतृत्व कसले लिने भन्ने बिषयमा निर्णय भने भैसकेको छैन।  स्वाभाविकै रुपमा एमालेले आफू ठूलो दलका रुपमा रहेकाले सरकारको नेतृत्व पनि आफूले पाउनु पर्ने बलियो अडानमा छ।  यो प्रदेशमा एमालेका २९ सांसद छन्।  

‘गठबन्धनको मात्रै नभएर संसदकै ठूलो दलको हैसियतले सरकारको नेतृत्व हामीले पाउनु पर्छ भन्ने हाम्रो माग हो,’ एमाले संसदीय दलका नेता लीला गिरीले भने ‘तर सरकारको नेतृत्वको बिषय संघीय सरकारको नेतृत्व र गठबन्धनमा आवद्ध दलका केन्द्रीय नेतृत्वको निर्णयसंग जोडिने कुरा हो, यसर्थ अहिले सम्म निर्णय भने भैसकेको छैन। ’

बागमती र कर्णालीको नेतृत्व माओवादीलाई दिने छलफल शिर्ष तहमा चलेको आफूले पनि सुनेको भन्दै गिरीले यसले आधिकारीकता पाए यो प्रदेशको नेतृत्व एमालेले पाउने बताए।  त्यसो त, यो प्रदेश एमालेका प्रभावशाली नेताहरुको प्रदेश भएकाले पनि एमालेले यो प्रदेशमा आफ्नो नेतृत्व कायम राख्ने सम्भावना छ।  पार्टी उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोख्रेल, सचिव छबीलाल बिश्वकर्मा, नेता गोकर्ण बिष्ट यसै प्रदेशका नेताहरु हुन्।  ‘पार्टीका शिर्ष नेताहरुको प्रभाव रहेको यो क्षेत्रमा उनीहरुले नेतृत्वका लागि प्रयत्न जारी राख्ने छन्,’ एमालेका एक नेताले भने ‘यसले पनि पार्टी नेतृत्वलाई यो प्रदेशको सत्ता नेतृत्वका बिषयमा निर्णय लिन दबाब पुग्छ। ’  

त्यसोत, माओवादीका पनि यो प्रदेशमा प्रभावशाली नेताहरु छन् नै।  उपाध्यक्ष कृष्णबहादुर महरा, बर्षमान पुन, ओनसरी घर्ती लगाएत शिर्ष नेताहरु रहेको यो प्रदेश माओवादीको उद्गम थलोको हिस्सा ओगटेको प्रदेश समेत हो।  तर एमालेको आडमा संघीय सरकारको नेतृत्व गर्ने अवसर पाएको माओवादीले प्रदेशको नेतृत्वका लागि आफ्नो रोजाई दाबी गर्नबाट स्वाभाविकै रुपमा कमजोर बनेको छ।  यसर्थ पनि लुम्बिनी प्रदेशको नेतृत्व माओवादीको भन्दा एमालेको ईच्छाका आधारमा टुंगिने माओवादीका सांसदले बताए।    

तर माओवादीले यो सरकारको नेतृत्वलाई आफ्नो मजबुती दाबी भनेको छ।  ‘माओवादीको आधार क्षेत्रको हिस्सा ओगटेको प्रदेश भएकालेपनि माओवादीले यो प्रदेशको नेतृथ्व पाउनु पर्छ भन्ने हो,’ माओवादी संसदीय दलका नेता जोगबहादुर महराले भने ‘यो प्रदेशमा हाम्रो दाबी निकै मजबुत दाबी छ। ’ तर गठबन्धनको केन्द्रीय नेतृत्वको निर्णयका आधारमा सत्ता नेतृत्व टुंगिने भएकाले अहिले नै सत्ता नेतृत्वको बारेमा यसै भन्न नसकिने उनको भनाइ छ।  

उनका अनुसार लुम्बिनी सहित कर्णाली, बागमती र सुदुरपश्चिम प्रदेशको नेतृत्वकै बिषयमा सत्ता गठबन्धनमा आवद्ध दलका बिचमा छलफल चलिरहेको छ।  ‘चार वटा प्रदेशको नेतृत्वका बिषयमा छलफल चलिरहेको छ,’ महराले भने ‘तर निर्णय भैसकेको छैन, भोली (शुक्रबार) सम्म टुंगो लाग्ला। ’ उनले सत्ता नेतृत्व एमालेको मात्रै नभई माओवादीको समेत उत्तिकै रहेको बताए।  बागमती र कर्णाली माओवादीले पाउने गठबन्धनको अनौपचारिक सहमतीका बारेमा उनले भने ‘सम्भावना एमालेको पनि हो र माओवादीको पनि हो, किनकी निर्णय भैनसकेकाले सम्भावना त कसैको पनि सकिएर जाने हैन नि। ’

यसैविच २७ पुस सम्म प्रदेश सरकार गठनका लागि आह्वान भैसकेका कारण प्रदेश सरकारको नेतृत्व तत्कालै टुंगिने उनले बताए।  लुम्बिनी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते दिउँसो ४ बजे सम्मको समय सीमा दिएका छन्।    

प्रकाशित: २१ पुस २०७९ ०८:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App