९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीमा दाहालको नाटकीय छलाङ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर: रासस

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। दाहालले पद तथा गोपनीयताको शपथ सोमबार अपराह्न ४ बजे लिने राष्ट्रपति कार्यालयले जनाएको छ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धनमा आइतबार बिहान दरार आएपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीमा दाहाललाई समर्थन गरेका हुन्। सरकारको पाँचवर्षे कार्यकाको सुरुको साढे दुई वर्ष दाहाल र त्यसपछि ओली प्रधानमन्त्री हुने सहमति भएको छ। एमालेले राष्ट्रपति र सभामुख पद पनि पाउने सहमति भएको छ।

एमालेसँगको सहमतिपछि दाहालले आफ्नो दल माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टी (राउपा) र स्वतन्त्र सांसद प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए। २७५ सदस्यीय प्रतिनिधिसभामा १६९ सांसदको समर्थन दाहालले पाएका छन्। भइरहेको गठबन्धन तोड्दै दाहालले एमालेसहित सात दल र केही स्वतन्त्र सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीमा नाटकीय छलाङ मारेका हुन्।

सरकार गठनका लागि प्रतिनिधसभामा कुनै पनि दलको बहुमत नभएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन्। तोकिएको समयभित्रै राष्ट्रपति कार्यालयमा दाहालले प्रधानमन्त्रीमा आफ्नो दाबी पेस गरेका थिए। कांग्रेस नेतृत्वको गठबन्धनबाट आफूले प्रधानमन्त्री नपाउने छनक मिलेपछि दाहालले शुक्रबार साँझदेखि एमालेका नेतासँग निरन्तर सम्पर्क बढाएका थिए। माओवादीका उपमहासचिव वर्षमान पुनले शनिबार साँझ नै गठबन्धन सकिएको घोषणा गरेका थिए। तर देउवाले मिलाउँछु भनेपछि आइतबार बिहान गठबन्धनको बैठक बसेको थियो। बैठकमा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान लिएपछि माओवादी अध्यक्ष दाहाल त्यहाँबाट उठेर एमाले अध्यक्ष ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए। त्यही दाहालको नेतृत्वमा सरकार गठन गर्नेलगायत सहमति भएको हो।

एमालेले नयाँ राजनीतिक समीकरण र सरकार गठन ‘सरप्राइज’ नभएको जनाएको छ। उपमहासचिव विष्णु रिमालले एमाले र माओवादीबीचको सहकार्य कुनै ‘सरप्राइज’ नभई स्वाभाविक भएको बताए। ‘एकल सरकार गठनका लागि कुनै पनि दललाई जनादेश प्राप्त नभएकाले हामीले कांग्रेसलाई पनि सरकार बनाउन भनेको हो, प्रधानमन्त्री हामीलाई चाहिँदैन भनेकै हो, देउवा नेतृत्वको गठबन्धनबीच कुरा मिलेन भनेर प्रचण्ड (दाहाल) जी हामीसँग आउनुभयो, हामीले लौ त भनेर उहाँलाई प्रधानमन्त्री प्रस्ताव गर्यौं’, उपमहासचिव रिमालले भने। उनका अनुसार एमालेले स्थिर सरकार र स्थायित्व चाहेकाले प्रधानमन्त्री हुने खेलमा नलागेको बताए।

यसरी सम्भव भयो एमाले-माओवादी सत्ता सहकार्य

निर्वाचन परिणाम सार्वजनिक भएपछि नयाँ राजनीतिक समीकरणका लागि एमालेका उपाध्यक्षद्वय विष्णु पौडेल र सुवास नेम्वाङ तथा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ माओवादी नेतासँग निरन्तर छलफलमा सहभागी भइरहे। उनीहरूकै मेहनतले अन्ततः सत्तामा एमाले र माओवादीको सहकार्य सम्भव भयोे। एमालेका एक नेताका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा असहमत भएकाले संवादबाट बाहिर बसेका थिए। तर पौडेल, नेम्वाङ र गुरुङले देउवा नेतृत्वको गठबन्धन टुटाउन र वामपन्थीहरूको सरकार बनाउने विषयमा निरन्तर छलफल गरिरहे। माओवादीका उपमहासचिव पुनले एमालेसँगको वार्तालाई टुट्न दिएनन्।

निर्वाचन परिणाम सार्वजनिक भएपछि एमाले अध्यक्ष ओलीले दाहाललाई फोन गरेर बधाई दिएपछि साढे एक वर्षअघि उनीहरूबीच बन्द भएको संवादको ढोका खुलेको थियो। त्यसपछि एमाले उपाध्यक्षहरूले दाहललाई बधाई दिएका थिए। एमाले उपाध्यक्ष पौडेलले दाहाललाई भेटेरै र नेम्वाङले फोनबाट बधाई दिएका थिए। वामपन्थीहरू मिल्नुर्छ भन्दै आएका एमाले उपमहासचिव गुरुङले पनि दाहाललाई भेट गरेर बधाई दिएका थिए।

एमालेका सचिव रघुवीर महासेठले निर्वाचन परिणामा आएलगत्तै दाहाललाई भेटेर एमालेको समर्थनमा प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए। महासेठ दाहाललाई भेटेको केही दिनमै दिल्लीसमेत गएका थिए। महासेठले दिल्लीबाट फर्केपछि होटल हिमालयनमा एमाले र माओवादी नेताबीच भेटघाट र छलफलको वातावरण बनाएका थिए। होटल हिमालयनमा एमाले र माओवादी नेताको भेटघाट बाक्लिएपछि माओवादी अध्यक्ष दाहालले महासचिव देव गुरुङलाई ओलीलाई भेट्न बालकोट पठाएका थिए। महासचिव गुरुङले ओलीलाई भेटेलगत्तै दाहालले कास्कीमा आयोजित एक कार्यक्रममा आफू जसरी पनि प्रधानमन्त्री बन्ने भाषण गरेका थिए।

स्वास्थ्य उपचारका लागि चीन गएका माओवादी उपमहासचिव पुन स्वदेश फर्केपछि दुई दलका नेताहरूबीच झन् घनिभूत रूपमा छलफल अघि बढ्यो। एमालेले सहकार्यका लागि देउवा नेतृत्वको गठबन्धन छाड्न माओवादीलाई आग्रह गरिरह्यो। माओवादीले आइतबार गठबन्धन तोडेपछि एमालेको आग्रहले सार्थकता पायो र दाहालको नेतृत्वमा नाटकीय रूपमा सरकार बन्ने अवस्था आयो।

वाङ सिनको ‘अनसिन’ भेटघाट

एमालेले देउवा नेतृत्वको गठबन्धनमा रहेसम्म माओवादीसँग औपचारिक वार्ताको टेबुल बस्न नसक्ने सन्देश दिएपछि काठमाडौंस्थित चिनियाँ दूतावासका कर्मचारी पनि एकाएक सक्रिय भएका थिए। दूतावासका कर्मचारीले एमाले अध्यक्षबाहेक अन्य नेतालाई भेटेको भए पनि त्यसलाई गोप्य राखिएको थियो। तर माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई चिनियाँ दूतावासका डिसिएम वाङ सिनले शुक्रबार बिहानै भेट गरी गठबन्धन तोडेर वामपन्थीहरूको सरकार बनाउन भनेका थिए। तर चिनियाँ दूतावासले भने यसलाई अस्वीकार गरेको छ। वाङसँगको भेटपछि माओवादीले गठबबन्धन बैठकमा प्रधानमन्त्रीमा आफ्नो अडानलाई थप कसिलो बनाएको थियो।

कांग्रेस र माओवादीका नेताहरूबीच शनिबार दिनभर छलफल भए पनि सहमति बन्न सकेन। शनिबार साँझ पनि गठबन्धन दलहरूबीच सहमति बन्न सकेन। त्यसपछि शनिबार राति एमाले र माओवादीका नेताहरूबीच छलफल भयो। एमालेले नयाँ सरकारमा सहकार्यका लागि माओवादी गठबन्धन तोडेर आउनुपर्ने सर्त राखे। माओवादी नेताहरू आइतबार निर्णय गर्ने भनेर बैठकस्थलबाट हिँडे। आइतबार १२ बजेपछि दाहालले गठबन्धन भत्केको र अब नयाँ ‘कोर्स’ सुरु भएको भन्दै बालुवाटारबाट बाहिरिए। बालुबाटारबाट बाहिरिएका दाहाल खाना खाने निहुँमा खुमलटार पुगेर माओवादी नेताहरूसँग छलफल गरी बालकोट पुगेका थिए।

एमाले र माओवादीबीचको सहमतिमा पुष्पकमल दाहाल पहिलो अढाइ वर्षका लागि प्रधानमन्त्री भएका हुन्। त्यसपछि साढे दुई वर्षपछि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुनेछन्। एमालेले राष्ट्रपति, सभामुख पद लिने सहमति भइसकेको छ। मन्त्रालय बाँडफाँटको निर्णय सोमबार बस्ने बैठकबाट गर्ने सहमति भएको छ। एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने सम्भावना छ। एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ पनि सरकारमा सहभागी हुने सम्भावना रहेको स्रोतले जनाएको छ। माओवादीबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत सरकारमा जाने सम्भावना छ।

समाजवादीमा निराशा

नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पूर्वसहमति तोडेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहंकार देखाएको निष्कर्ष निकालेको छ। नयाँ बन्ने सरकारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति देउवामध्ये को पहिला प्रधानमन्त्री हुने भन्ने विवाद उत्पन्न भएपछि गठबन्धन टुटेको हो। नेकपा एसले यसका लागि कांग्रेसमा देखिएको अंहकार कारक रहेको निष्कर्ष निकालेको छ। सत्ता गठबन्धन टुटेपछि नेकपा एसको सचिवालय बैठक बसेको थियो। बैठकमा नेताहरूले दाहालाई पहिलो पालो प्रधानमन्त्री बनाउने सहमति तोडेर कांग्रेसले अहंकार देखाएको बताएका थिए। ‘देउवाले प्रचण्ड (दाहाल) सँग आन्तरिक सहमति गरेकै थिए। बोलेको कुरा पुरा नगरेर देउवाले अहंकार देखाएकै हुन्’, समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने। उनका अनुसार कांग्रेसकै अहंकारका कारण दाहालले सहयात्रा तोडेर प्रधानमन्त्री पाउन एमालेसँग सहकार्य गरेका हुन्। कांग्रेस नेतृत्वको गठबन्धन सकिएको भन्दै नेकपा एसले नयाँ सरकार गठनलगायतका घटनाक्रम हेरेर थप निर्णय लिने जनाएको छ। स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले भने नेकपा एसले माओवादी अध्यक्ष दाहाललाई नचिन्दा यो अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित: ११ पुस २०७९ ००:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App