१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

बाजुराको मतगणना रोकियो

मतपेटीका शिल गर्दा मुचुल्का गरिएको भन्दा बढी भोट देखिएपछि बाजुराको मतगणना रोकिएको छ। हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतपेटिकामा मुचुल्का गरिएको भन्दा ४० भोट बढी भेटिएपछि मतगणना रोकिएको हो।

षड्यन्त्रपूर्वक तरिकाले मतपेटिका भित्र मत राखिएको आशंका देखिएकोले मतगणना रोकिएको नेकपा एमालेले जनाएको छ। प्रतिनिधी सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत बढी गणनामा देखिएका छन्।

हिमाली गाउँपालिका ६ मा (क) र (ख) गरि कुल मतदाता १७२६ मतदाता रहेका छन्। ती मध्ये मुचुल्कामा १४५० मत खसेको उल्लेख गरिएको छ। गणना स्थलमा भने ४० मत बढी भेटिएको छ। हिमाली गाउँपालिका नेपाली काँग्रेसका उम्मेदवार बद्री पाण्डेको गृह पालिका हो।  

नेकपा एमालेले १६ बुथ कब्जा गरिएका भनिएका मध्ये हिमाली ६ पनि हो। जहाँ उम्मेदवार पाण्डे नेतृत्वको टोली आएर बुथ कब्जा गरिएको र मतदान गर्ने समय सकिएपछि कोठामा लिएर ६ सय बढी मत खसाइएको आरोप नेकपा एमालेले लगाउँदै आएको छ। हिमाली ६ स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेको वडा हो।  

मतदान अधिकृत लगायतका कर्मचारी, सुरक्षा निकाय सबैलाई प्रभावमा राखेर एकलौटी कब्जा शैलीमा मतदान गरेपछि शिलबन्दी गर्दा संख्या एकीन नभएको हुन सक्ने आरोप एमालेको छ। बद्मासी गरिएको कुरा प्रष्ट खुलिसकेकोले मतगणना छानवीन पछि मात्रै सुरु गरिनु पर्ने नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले बताएका छन्।

अहिले प्रतिनिधी सभाको मतगणना स्थगित छ। हालसम्म बडीमालिका नगरपालिका १ को (क) बुथ बाहेक सबै वडाको मतगणना भइसकेको छ भने हिमाली गाउँपालिका ५ र ७बाहेकको मत गणना गरिएको छ। ती मध्ये हिमाली ६ को मत गणनामा विवाद देखिएको छ।  

हालसम्मको नजिता हेर्दा बद्री पाण्डेले ५३९९ मत ल्याएका छन् भने कर्ण बहादुर थापाले ४१३० मत ल्याएका छन्। पाण्डेले १२६९मतको अग्रता छ। हिमाली काँग्रेस र बडीमालिका नेकपा एमालेले जितेको पालिका हो। 

प्रकाशित: १६ मंसिर २०७९ ०३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App