प्रधानमन्त्री केपी शर्मा ओलीले होटल क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न सरकार गम्भीरताका साथ काम गरिरहेको बताएका छन्।
बुधबार काठमाडौंको सुकेधारामा अन्तर्राष्ट्रिय ब्रान्ड कर्मक्युर होटलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले होटललाई इण्डस्ट्रीको रूपमा बुझेर त्यसको विकास र सुरक्षामा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। उनले होटल क्षेत्रको प्रगतिसंगै पर्यटन क्षेत्रमा पनि नयाँ गति आउने विश्वास व्यक्त गरे।
‘हामीले होटललाई इण्डस्ट्रीका रूपमा बुझेका छौं र यसलाई सुरक्षा र विकासमा सहयोग गर्नु आवश्यक छ। होटलको विकासले पर्यटन क्षेत्रलाई अघि बढाउनेछ र हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धमा पनि सकारात्मक प्रभाव पार्नेछ,’ प्रधानमन्त्री ओलीले भने।
उनका अनुसार, कर्मक्युर होटल जस्तो अन्तर्राष्ट्रिय स्तरको ब्रान्डको स्थापना नेपालमा होटल उद्योगको विकासक्रम अघि बढिरहेको एउटा प्रमाण हो। ‘यो केवल एउटा नयाँ होटलको सुरुवात मात्र होइन, यसले नेपालमा होटल इण्डस्ट्रीको विकासक्रमलाई थप बलियो बनाएको छ। यसले पर्यटन र होटल व्यवसायमा वृद्धि ल्याउनेछ,’ उनले थपे।
प्रधानमन्त्री ओलीले होटल व्यवसायको विस्तारसँगै नेपालको पर्यटन क्षेत्रले नयाँ आयाम पाउने विश्वास पनि व्यक्त गरे।
प्रकाशित: २ माघ २०८१ १५:०६ बुधबार