२२ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

उदयपुर १ को मतगणना सुचारु, एमालेको बहिस्कार

त्रियुगा माविमा गणना सुरु गर्दै कर्मचारी। तस्विरः महेश्वर

४८ घण्टादेखि अवरुद्ध भएको उदयपुर १ को मतगणना सुचारु भएको छ। आइतबार बिहान १० बजे प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाको प्रत्यक्षतर्फको १ सय मतपत्र भेटिएपछि अवरुद्ध भएको गणना मंगलबार १०ः३० देखि सुचारु भएको हो।  

आइतबार बिहानदेखि अवरुद्ध गणना सुचारु गर्न मुख्य निर्वाचन अधिकृतले सर्वदलीय बैठक राखेर पटक पटक प्रयास गरे पनि सहमति जुट्न नसकेपछि निर्वाचन आयोगलाई जिम्मा दिएको थियो। कार्यालयले आयोगको निर्देशन अनुसार गर्ने भन्दै ३ पटक गणना सुचारु गर्ने सूचना जारी गरे पनि हुन सकेको थिएन।  

आइतबार ४ः०० बजेदेखि सुचारु गर्ने सूचना जारी गरेकोमा सहमति नजुटेपछि साँझ ७ः०० बजे बैठक बोलाएकोमा एमालेलगायत दलहरुले त्यसभन्दा अघि नै पुनः मतदानको माग गर्दै बैठक बस्न मानेनन्। त्यसपछि सोमबार बिहान ८ः०० बजे बस्ने गरी स्थगित भएको गणना दिउँसो १ः०० बजेदेखि थाल्ने अर्को सूचना जारी भयो।  

त्यसबेलासम्म निर्वाचन आयोगले मतगणना गर्नुअघि भएको पूर्व सर्वदलीय सहमति अनुसार गणना कार्य जारी राख्न निर्देशनात्मक पत्र पठाएपछि कार्यालयले बैठक राख्दा पनि सहमति जुटेन। निर्वाचन अधिकृतको कार्यालयले पुनः आयोगकै मुख ताखेर पत्राचार ग¥यो।  थप निर्देशन पर्खेर बसेको कार्यालयले सोमबार राति ८ः०० बजेदेखि गणना सुचारु गर्ने सूचना जारी गरे पनि दलीय सहमति नजुटेका कारण गणना हुन सकेको थिएन।  

मंगलबार बिहान आयोगले दिएको निर्देशन अनुसार प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाको मतको छानविन गर्दा खसेका १ सय मत एउटै केन्द्रको मतदान अधिकृतको हस्ताक्षर रहेको पाइयो। निर्वाचन ऐन अनुसार मतदान सकिएपछि अधिकृतहरुले सर्जमिन मुचुल्का गर्दा उल्लेख भएको मतपत्र संख्याबाहेक अन्य मतपत्र भेटिए बदर हुने प्रावधान अनुसार थप भेटिएको सबै मत बदर गर्ने निर्णय मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेपछि गणना सुचारु भएको हो।  

यता एमाले गणना कार्यको बहिस्कार गरेर मतगणनास्थलबाट नारा जुलुस गर्दै बाहिरिएको छ। त्रियुगा नमूना मावि भवनमा भईरहेको मत गणना कार्य धाँधलीपूर्ण भएको, सत्ताधारी दलहरुले प्रहरी प्रशासनको आडमा नियम मिचेकोलगायत आरोपयुक्त नारा लगाउँदै बाहिरिएको एमालेका उम्मेदवार भने गणनास्थलमै रहेको जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाले बताए।  

आइतबार विहान ६ः५० बजेसम्मको गणना अनुसार क्षेत्र नं. १ मा ६७ हजार ८२ मत गणना हुँदा गठबन्धनका उम्मेदवार काँग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्का अग्रस्थानमा छन्। उनले २७ हजार ४ सय ८४ मत पाउँदा एमालेकी मञ्जुकुमारी चौधरीले २५ हजार ६ सय ५९ मत पाएकी छिन्। उदयपुर १ मा ७६ हजार ५ सय ३८ मत खसेको कार्यालयले जनाएको छ।  

 

 

 

प्रकाशित: १३ मंसिर २०७९ ०६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App