२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सुनसरी १ बाट दोस्रो प्रयासमा अशोक राई प्रतिनिधिसभा सदस्यमा निवार्चित

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई प्रतिनिधिसभा सदस्यमा निवार्चित भएका छन्।

नेकपा एमालेसँगको तालमेलमा राई दोस्रो प्रयासमा सुनसरी १ बाट निवार्चित हुन सफल भएका हुन्। सोमबार बिहान घोषणा भएको अन्तिम मतपरिणाम अनुसार राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन)लाई ४५३ मतान्तरले हराउदै विजयी भएका छन्। राईले १७ हजार ५९ मत पाउदा तामाङले १६ हजार ६०६ मत पाएकी छिन्। गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोले १३ हजार ८७ मत पाए।

सुनसरी १ मा एमालेको समर्थनमा टिकट पाएका राईलाई चुनावी अभिायनमा भोट माग्न जति कठिन थियो, मतगणनाको क्रममा पनि उनले उस्तै गरि संघर्ष गर्नुपरेको थियो। शुरुवातदेखि नै मतगणनामा पछि परेका राईले आइतबारदेखि मात्र अग्रता लिन शुरु गरेका थिए।  

धरानको २० वटा वडाको मतगणना सकिदा राई रास्वपाकी तामाङसँग उनी १९२ मतले पछि थिए। जब बराहक्षेत्र नगरपालिकाको वडाहरुको मतगणना शुरु भयो, त्यसपछि मात्र उनले मतान्तर घटाउन थाले। वराहक्षेत्रको १,२ र ३ वडाको गणना सकिएपछि मात्र राईले ४ मतको अग्रता लिएका थिए। त्यसपछि भने उनले रास्वपाकी तामाङलाई आफुभन्दा अघि आउन दिएनन्, र ४५३ मतान्तरले विजयी भए।

राईको राजनीतिक जीवनमा यो तेस्रो पटक संसद यात्रा हो। उनी प्रत्यक्ष निर्वाचनबाट चुनिएको भने २८ वर्ष पछि हो। २०४८ र २०५१ सालमा खोटाङबाट सांसद चुनिएका राई २०५६ मा भने उदयपुरबाट चुनाव हारेका थिए। २०६४ मा पनि पराजित भएका उनी २०७० मा भने संघीय समाजवादी पार्टीबाट समानुपातिकबाट सांसद भएका थिए।  

सुनसरी १ बाट उनी दोस्रो प्रयासमा उनी चुनिएका हुन्। यसअघि २०७४ सालमा कांग्रेससँगको तालमेलमा उनी उम्मेद्वार थिए। त्यसबेला एमालेका जयकुमार राईसँग दोब्बर मतान्तरणले उनी पराजित भएका थिए। उक्त चुनावमा २२ हजार १२३ मत ल्याएर पनि पराजित भएका राई यसपाली भने १७ हजार ५९ मत ल्याउदा पनि विजयी भए।

प्रकाशित: १२ मंसिर २०७९ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App