रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ मा आज विहानै देखि रोकीएको मत गणना केही बेर अघि देखि सूचारु भएको छ। तर निर्वाचन कार्यालयले सत्ता गठबन्धनका दलहरु र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुको अनुपस्थितीमै गणना सूचारु गरेको हो। सत्ता गठबन्धनका प्रतिनिधिहरु धर्नामा बसीरहेकै बेला निर्वाचन कार्यालयले नेकपा एमाले,नेपाल मजदुर किसान पार्टी र केही स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको रोहबरमा गणना सुचारु गरेको छ।
सत्ता गठबन्धनका दल र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरु अहिले पनि मतगणना स्थल बाहिर धर्नामै छन। मतगणना भइरहेको बुटवल उपमहानगरपालिकाको पुरानो प्रशासनिक भवन बाहिर बिरोध प्रदर्शन र नाराजुलुस भइरहेको छ। बिरोधमा उत्रेकाहरुले टायर बाल्न खोज्दा प्रहरीले रोकेपनि बिरोध प्रदर्शन रोकीएको छैन। मतगणना स्थल र वरपर ठुलो संख्यामा प्रहरी परिचालन गरीएको छ।
मत गणनाका क्रममा मुचुल्कामा रहेको भन्दा बढी मत भेटिए पछि सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरु विरोधमा उत्रेका हुन। मतपेटिकामा मुचुल्कामा रहेको भन्दा ३४ थान मत बढी भेटिएको र ४/५ वटा मत एकैठाँउमा पट्याएर खसालीएको भेटिएको सत्ता गठबन्धनका प्रतिनिधिहरुको दावी छ।
सोही विषयलाइ लिएर सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले सम्बन्धित वडामा पुन मतदानको माग गर्दै धर्ना र प्रदर्शनमा उत्रेका हुन। निर्वाचन अधिकृतको कार्यालयले भने कम्युटरमा डाटा राख्दा कर्मचारीबाट कमजोरी भएको भन्दै मतपेटिका र मुचुल्काको रेकर्ड भने तलमाथि नभएको जनाएको छ। छलफलकालागि दिनभर प्रयास गरीएपनि असन्तुष्ट दलहरु बार्तामा नआएपछि कार्यालयले आयोगसंग राय मागेको र आयोगकै निर्देशन अनुसार गणना सूचारु गरीएको निर्वाचन अधिकृत उद्वीर नेपालीले बताए। निर्वाचन अधिकृत नेपालीका अनुसार निर्वाचन आयोगले मतपेटिकामा भएको मतलाइ आधिकारिक मत मानेर गणना सूचारु गर्न निर्वाचन अधिकृतको कार्यालय बुटवललाइ निर्देशन दिएको छ।
यो क्षेत्रमा मत गणना रोकीनु अघि ७७ हजार ५८६ मत गणना हुँदा नेकपा एमालेका बिष्णु पौडेलले २५ हजार ९६४ मत सहित अग्रता लिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल २४ हजार ८८९ सय मत सहित दोश्रो स्थानमा छन्। सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा २१ हजार २४७ मत सहित तेश्रो स्थानमा छन्।
प्रकाशित: ९ मंसिर २०७९ १४:५९ शुक्रबार