१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

कर्णालीका ७ जिल्लामा मतगणना, गठबन्धनको अग्रता

दैलेख-२ को मतगणनास्थल दुल्लुमा सुरक्षा दिँदै सशस्त्र प्रहरी, दुल्लुमा मतगणनास्थलमा पार्टीका एजेन्ट तथा मतगणकहरू। तस्बिर: नागरिक

कर्णालीका केही जिल्ला र क्षेत्रबाहेक ७ जिल्लामा मतगणना भइरहेको छ। प्रारम्भिक मतगणनामा प्रायः सत्ता गठबन्धनको अग्रता देखिएको हो।

हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा र सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाहेक अन्य ७ जिल्लामा मतगणना भइरहेको छ। जसमा प्रतिनिधिसभा र प्रदेशसभामा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता देखिएको छ। जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी र दैलेख निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यको मतको अग्रता नेकपा एमालेका उम्मेदवारले लिए पनि अन्य निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनले अग्रता लिएको हो।

मुगुमा मंगलबार साँझ मात्र मतपेटिका सदरमुकाम गमगढी पुगेको छ। बुधबारदेखि मात्र मतगणना हुने जनाइएको छ। हुम्ला र डोल्पामा हेलिकोप्टर नपुग्दा मतपेटिका ओसार्न नसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (एसएसपी) माधवप्रसाद श्रेष्ठले बताए। ‘हेलिकोप्टर नपुग्दा मतपेटिका जिल्ला सदरमुकाम ल्याउन सकिएको छैन्,’ प्रहरी प्रवक्ता श्रेष्ठले भने, ‘छिटो मतपेटिका ल्याउने तयारी भइरहेकाले ती जिल्लामा छिटो मतगणना हुनेछ।’

सुर्खेतको क्षेत्र नम्बर १ स्थित सिम्ता गाउँपालिकाको सिम्ता बहुमुखी क्याम्पस मतदान केन्द्रमा विवादका कारण मतदान स्थगित भएको थियो। उक्त स्थगित भएको मतदान मंगलबार सम्पन्न भएसँगै बुधबारदेखि सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ को मतगणना हुने जनाइएको छ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम ठानीले ४० हजार ९ सय ५९ मतगणना हुँदा १८ हजार ७ सय ७८ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत बिसीले १५ हजार ५ सय ८८ मत ल्याए। ठानी र बिसीको ३ हजार बढी फराकिलो मतान्तर छ।

सुर्खेतमा प्रदेशसभाको मतगणना भएको छैन। दैलेख २ मा कांग्रेसका दिक्पालकुमार शाहीले सुरुवाती चरणदेखि नै अग्रता लिएका छन्। दैलेखका चार प्रदेशसभा सदस्यको निर्वाचनमा अहिले तीन वटाको मात्रै मतगणना भइरहेको छ। जसमा दुई वटामा कांग्रेस र एउटमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्। एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा माआवादी केन्द्रका उम्मेदवार शक्ति बस्नेतले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन्।

त्यस्तै जाजरकोटको प्रदेशसभा (क) र (ख) मा कांग्रेस उम्मेदवारले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन्। कालिकोटमा मंगलबार साँझदेखि भएको मतगणनामा एमालेका नगेन्द्र शाहीभन्दा माओवादीका महेन्द्रबहादुर शाही अगाडि छन्। कालिकोटमा प्रदेशसभाको मतगणना भएको छैन।

एउटा निर्वाचन क्षेत्र रहेको सल्यानमा नेकपा एकीकृत (समाजवादी) का प्रकाश ज्वालाले फराकिलो मतान्तरले अग्रता लिएका छन्। जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्रबहादुर शाहीले अग्रता लिएका छन्। जुम्लाको प्रदेश सभा (ख) मा एकीकृत समाजवादीका उम्मेदवार अगाडि छन्। त्यस्तै, रुकुमपश्चिममा पनि नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एमालेका नन्दराम देवकोटालाई फराकिलो मतान्तरले पछि पारिरहेका छन्।

प्रकाशित: ७ मंसिर २०७९ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App