नागरिकता विवादका सन्दर्भमा रवि लामिछानेले निर्वाचन आयोगलाई स्पष्टीकरण बुझाएका छन्।
चितवन २ का मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापामार्फत मंगलबार अपराह्न ४ बजेपछि लामिछानेले स्पष्टीकरण बुझाएका हुन्। बुधबार आयोगको केन्द्रीय कार्यालय पठाएपछि मात्रै स्पष्टीकरणको खाम खुल्ने थापाको भनाइ छ।
‘उहाँले सिलबन्दी गरेर बुझाउनुभएको छ। हामीले ढिला गरी पायौं। जतिसक्दो छिटो आयोगमा पठाउँछौं’, मुख्य निर्वाचन अधिकृत थापाले भने, ‘हामीले यहाँ केही नगर्ने भएकाले सिलबन्दी नखोली पठाउँछौं।’
विदेशी नागरिकता लिएका कारण खारेज भएको नेपाली नागरिकता पेस गरेर उम्मेदवारी दर्ता गराएको तथा पुनः नागरिकता प्राप्ति प्रक्रियामा नगएको भन्दै उनको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सात दिन समय दिएर रविलाई स्पष्टीकरण पेस गर्न भनेको थियो। रविले मंगलबार सातौं दिन स्पष्टीकरण बुझाएका हुन्।
उम्मेदवार लामिछानेको विरुद्धमा राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका थिए। लामिछानेले यो विषय पहिल्यै सल्टिइसकेको बताएका छन्।
प्रकाशित: ७ मंसिर २०७९ ०२:०३ बुधबार