२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सुनसरी क्षेत्र नं १ को मतगणना १ बजेदेखि सुरु हुने

सुनसरी क्षेत्र नं १ को सर्वपक्षीय बैठक। तस्बिर: रोहित राई

सुनसरी निर्वाचन क्षेत्र नं १ को मतगणना आज दिउँसो १ बजेदेखि सुरु गरिने भएको छ।  

धरान ८ सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको राजनीतिक दल र स्वतन्त्र उम्मेदवार एवं प्रतिनिधिहरुको सर्वपक्षीय छलफलले दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो।  

निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार अगल अलग वडाका मतपेटिकाहरु एकै ठाउँमा मिसाएर गणना गर्ने सहमति बैठकमा भएको छ। यस्तै, प्रतिनिधिसभा प्रत्यक्ष, प्रतिनिधिसभा समानुपातिक, प्रदेशसभा प्रत्यक्ष र प्रदेशसभा समानुपातिकको मतगणना एकैपटक सुरु गर्ने पनि निर्णय गरिएको अधिकृत अर्यालले जानकारी दिए।

यस्तै, बदर मत सम्बन्धमा विवाद आएको अवस्थामा बदर मतबारे तत्काल निर्णय गरेर मतगणना अघि बढाउने सहमति भएको छ। मतदानको क्रममा मतपत्र फरक मतपेटिकामा पर्न गएको हकमा सो मतपत्र सम्बन्धित मतपेटिकामा भएसरह गणना गर्ने पनि निर्णय भएको छ। यो निर्णयमा भने लोकतान्त्रिक वाम गठबन्धनले आयोगको निर्देशन विपरीत भएको भन्दै असहमति जनाएको थियो। आयोगको बैठक पनि बसिरहेको र थप निर्णय भएर केही निर्देशन आएपछि सोही अनुसार हुने पनि उनले बताए।  

सुनसरी निर्वांचन क्षेत्र १ मा कुल १ लाख ४१ हजार ८७८ मतदाता रहेका छन्। हिजो भएको मतदानमा ७८ हजार ८९३ मत मात्र खसेको छ। निर्वाचन अधिकृत रुद्र अर्यालका अनुसार सुनसरी १ मा खसेको मतप्रतिशत ५५ दशमलव ६१ प्रतिशत मात्र हो। सुनसरी १ मा धरान उपमहानगरपालिकाको २० वटै वडा, बराहक्षेत्र नगरपालिकाको ५ वटा वडा र रामधुनी नगरपालिकाको २ वटा वडा पनि पर्छ।  

सुनसरी १ मा लोकतान्त्रिक वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो, एमाले जसपा तालमेलबाट अशोककुमार राईबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। तर,स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बो, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन), हर्क साम्पाङ समुहका स्वतन्त्र उम्मेद्वार तर्क मगर र स्वतन्त्र उम्मेदवार कुमार कार्कीले पनि राम्रो मत ल्याउने अनुमान छ।

प्रकाशित: ५ मंसिर २०७९ ०७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App