७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

नागलाई खुसी (फोटोफिचर)

हिन्दू धर्मशास्त्र अनुसार शुक्रबार नाग पञ्चमी पर्व मनाइएको छ । वर्षेनी श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता रहेको छ । यसरी नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायत विषालु जीवको भय र आगलागी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सकिन्छ भन्ने धार्मिक मान्यता छ ।  

नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूलढोकामा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन छ । पोखराका विभिन्न ठाउँमा नागको पूजा गरिएको थियो । कोरोना संक्रमणको त्रासका कारण अघिल्ला वर्षजस्तो पूजा गर्ने ठाउँमा भीडभाड भने थिएन । यो पटक घरघरमा पूजा गरेर नाग पञ्चमी मनाइएको छ ।  

ज्योतिष शास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता भएकाले पनि यस दिन नागका अष्टकुल (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट र शंख) का नागहरूको पूजा गरिन्छ । ती नाग वा तिनको नाम लेखिएको चित्र घरको मूल ढोकामाथि वा ढोकाको दायाँबायाँ गाईको गोबरले टाँसेर पूजा गर्ने शास्त्रीय परम्परा रहेको धर्मशास्त्रीहरु बताउँछन् ।

यसका साथै अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु, जैमिनि नाम गरेका नागलाई पनि वज्रवारकको रूपमा पुज्ने गरिएको छ ।  नाग रिसाए पानीका मुहान सुक्ने र पानीको हाहाकार हुने मान्यताका आधारमा पनि नागलाई खुसी पार्न पूजा गर्ने शास्त्रीय परम्परा रहिआएको हो । यसै आधारमा हरेक घरको जगमा नागको बास हुने र नाग रिसाए घरको जग नै भासिन्छ वा भत्कन्छ भन्ने मान्यता छ । 

प्रकाशित: २९ श्रावण २०७८ ०७:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App