प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न वर्तमान सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको बताएका छन्।
नेपाली नागरिकको दैनिक जीवनस्तर वास्तविक र देखिने गरी उकास्न आफू नेतृत्वको सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले सुनाए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) तथा अन्य मुलुकका राजदूतहरूसँगको संयुक्त भेटवार्तामा उनले यस्तो धारणा राखेका हुन्।
बृहत् विदेशी लगानी आकर्षित गर्न सरकारी प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र दिगो विकास हासिल गर्ने दिशामा सरकार लागिपरेको उनले जानकारी दिए।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार, हालैको निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि निर्णायक जनादेश दिएको र आफूहरूलाई सो गहन जिम्मेवारीको पूर्ण बोध भएको प्रधानमन्त्रीले बताएका थिए।
नीतिगत निरन्तरताबारे प्रस्ट पार्दै उनले सुनाए, ‘नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं।’
नेपालले सन्तुलित एवम् व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने प्रधानमन्त्री शाहले बताए। ‘हाम्रा छिमेकी, विकास साझेदार र मित्र राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता, र साझा समृद्धिका सिद्धान्तहरूद्वारा निर्देशित छ,’ उनले भने।
व्यापार, लगानी, हरित ऊर्जा, जलवायु र पर्यटनजस्ता प्रमुख क्षेत्रहरूमा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउन नेपाल अग्रसर रहेको भन्दै उनले विकास साझेदारहरूको निरन्तर सहयोगप्रति आभार प्रकट गरे।
भेटका क्रममा विश्वका विभिन्न भूभागमा भइरहेका द्वन्द्वबारे पनि चर्चा भएको थियो। द्वन्द्वका कारण सर्वसाधारण नागरिकले नै सबैभन्दा बढी पीडा भोग्नुपरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले शान्ति कायम गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनले प्राथमिकता पाउनुपर्नेमा जोड दिए।
जवाफमा इयू तथा अन्य मुलुकका राजदूतहरूले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको भन्दै नेपालको उच्च प्रशंसा गरेका थिए। सुशासन र आर्थिक विकासको म्यान्डेटसहित नयाँ सरकारको नेतृत्व सम्हालेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिँदै उनीहरूले नेपालको आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा सहकार्य गर्न तथा लगानी बढाउन आफूहरू पूर्ण रूपमा तयार रहेको प्रतिबद्धता जनाए।
प्रकाशित: १२ जेष्ठ २०८३ १६:३० मंगलबार





