१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
राजनीति

नयाँ हुनुको अर्थ पूर्ण रूपमा अलग हुनु होइन: प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नयाँ सरकार गठन भए पनि राज्यको नीतिगत निरन्तरता कायम रहने बताएका छन्।

काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) तथा अन्य मुलुकका राजदूतहरूसँग आज भएको भेटमा उनले सरकार नयाँ हुँदैमा विगतबाट अलग नहुने स्पष्ट पारेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले भने, ‘नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं।’

उनले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण बोध भएको प्रस्ट्याएका थिए।

नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि प्रतिबद्ध रहेको दोहोर्‍याउँदै प्रधानमन्त्री शाहले जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको बताए।

उनले बृहत् विदेशी लगानी आकर्षित गर्न सरकारी प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र दिगो विकास हासिल गर्ने दिशामा सरकार लागिपरेको जानकारी दिए।

नेपालले सन्तुलित एवम् व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने प्रधानमन्त्री शाहको भनाइ छ। ‘हाम्रा छिमेकी, विकास साझेदार र मित्र राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता, र साझा समृद्धिका सिद्धान्तहरूद्वारा निर्देशित छ,’ उनले भने।

नेपालको विकासमा निरन्तर सहयोग पुर्‍याउने सबैप्रति आभार प्रकट गर्दै उनले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु र पर्यटनका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य सुदृढ बनाउन नेपाल लागिरहेको स्पष्ट पारे।

प्रकाशित: १२ जेष्ठ २०८३ १६:०२ मंगलबार