१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
अर्थ

पोखरा–दुबई उडानमा फ्लाई दुबईको चाँसो

पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि पोखरा–दुबई उडानको सम्भाव्यता अध्ययन भईरहेको छ। फ्लाई दुबईले पोखरा–दुबई उडानका लागि चाँसो देखाएको हो। त्यसका लागि फ्लाई दुबईको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको अवलोकन पनि गरिसकेको छ।  

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार फ्लाई दुबईको टोली दोश्रो पटकका लागि जुन २ मा फेरि पोखरा आउँदैछ। पोखरालाई दुबईसम्म जोड्ने चाँसोका साथ फ्लाई दुबईका प्रतिनिधि पोखरा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमास्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुसार फ्लाई दुबईको एउटा टोली प्रारम्भीक रुपमा अध्ययन गरेर फर्किसकेको छ भने दोश्रो टोली आउने तयारीमा छ।  

‘फ्लाई दुबईको टिमले गहन रुपमा पोखरासम्मको उडानबारे अध्ययन गरिरहेको छ। अहिले पनि नियमित रुपमा सम्पर्क भईरहेको छ,’ उनले भने, ‘यो उडान हुन सकेको खण्डमा पोखराको अन्तर्राष्ट्रिय पहुँच निकै नै परसम्म पुग्नेछ। विमानस्थलका सेवा सुविधाबारे एयरलाइन्सले अध्ययन गरिरहेको छ।’ सबै अवस्था सहज भएमा आगामि सेप्टेम्बरदेखि पोखरा–दुबईको उडान हुनसक्ने उनले बताए।  

‘प्रक्रिया अघि बढिरहेको छ। आगामि सेप्टेम्बरदेखि उडान हुने सम्भावना छ। अहिले नै कतिदिन उडान गर्ने भन्ने यकिन भएको छैन,’ निरौलाले भने, ‘अहिलेसम्मको छलफलमा सकारात्मक तरिकाले तयारी भईरहेको छ।’ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट पनि सकारात्मक पहल भईरहेको उनले बताए।

अहिले पोखरा अन्तर्राष्ट्रिय विमास्थलबाट नियमित रुपमा आन्तरिक उडान मात्र भईरहेको छ। हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासासम्म नियमित सेडयूअल फ्लाइट गरिरहेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको २७ महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय नै पहिलो एयरलाइन्स हो। तर, त्यो बाहेक सिचुआन एयरलाइन्सल चीनको छेन्दु–पोखरा व्यावसायिक उडान गरेको थियो। २०२५ को मार्चखेखि सुरु भएको हिमालयको पोखरा–ल्हासा नियमित उडान भने २०२६ मार्च २३ देखि रोकिएको छ।  

‘अहिले कुनैपनि नियमित अन्तर्राष्ट्रिय उडान छैनन्। हिमालयको उडान रोकिएपछि तत्कालका लागि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमास्थलको अन्तर्राष्ट्रिय सञ्जाल रोकिएको छ,’ निरौलाले भने, ‘अब पोखरा–दुबई उडान हुन सकेमा पोखराको पहुँच मध्यपूर्वको आकाशसम्म पुग्नेछ। पोखरासँग मध्यपूर्व जोडिएमा त्यसले पोखराको पर्यटन क्षेत्रमा निकै नै फड्को मार्नेछ।’

पोखराबाट भारत र भुटानका गन्तव्यसम्म पनि जोड्ने प्रयास भएपनि त्यसले गति भने लिन सकेको छैन। ‘अहिले नै तत्कालका लागि अरु गन्तव्यसम्म उडानका लागि पहल छैन। पछिल्लो प्रयास सफल भएको खण्डमा यसले सकारात्मक सन्देश प्रवाह हुनेछ,’ उनले भने, ‘पोखरालाई मध्यपूर्वसम्म जोड्न सकेको खण्डमा त्यसले पोखराको पर्यटन क्षेत्रलाई पनि उत्तिकै लाभ दिनेछ।’ पोखराको पर्यटन क्षेत्रलाई उकास्नका लागि पोखरा–दुबई उडान निकै नै प्रभावकारी हुने उनले बताए।  

पर्यटन बोर्ड पोखराका निर्देशक मणिराज लामिछाने पनि दुबई संसारकै हब बनिसकेकोले पोखरालाई जोड्न सकेमा पोखराको पहुँच निकै नै परसम्म पुग्ने बताउँछन्। ‘दुबई भनेको संसारको हब हो। मध्यपूर्वलाई पोखरासँग हवाई माध्यमले जोडिनु भनेको पोखराको पहुँच अन्तर्राष्ट्रिय स्थरमा अझै बढ्नेछ,’ उनले भने, ‘विश्वव्यापी रुपमा पोखराको पहुँच बिस्तार हुनेछ।’

पोखरा र दुबई हवाई सञ्जालमार्फत जोडिन सकेमा अमेरिका र यूरोपका मुलुकका पाहुना समेत सोझै पोखरा भित्र्याउन सकिने उनले बताए। ‘दुबई त विश्वव्यापी सञ्जाल हो। नेपाली पनि ठूलै आकारमा दुबईसम्म घुम्न जान्छन। दुबईसँग हवाई सञ्जाल बिस्तार हुनु भनेको पोखराको पहुँच सिधै पर्यटकीय श्रोतबजारसम्म पुग्नु हो,’ उनले भने।

लामिछानेका अनुसार दुबईसँगै बंगलादेशसम्मको हवाई सञ्जाल बिस्तार पनि जरुरी छ। किनकी पछिल्लो समय बंगलादेशका पाहुनाको नेपाल आगमन निकै बढिरहेको छ। बंगलादेश नेपालको नजिकको गन्तव्य पनि हो। बंगलादेशका पाहुनालाई सिधै पोखरा ओराल्न सकेमा पोखराले पर्यटनबाट पर्याप्त लाभ पाउने उनले बताए। ‘बंगलादेश हुँदै यूरोप र अमेरिकासम्म पनि हवाई माध्यमबाट जोड्न सकिन्छ। बंगलादेशको उडान नजिक पनि पर्छ,’ उनले भने, ‘बंगलादेशका पाहुना पोखरा आउँदा निकै रमाउँछन्।’  

प्रकाशित: १२ जेष्ठ २०८३ १५:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App