८ वैशाख २०८१ शनिबार
फोटो फिचर

फेवातालमा सेल्फी र टिकटक चटारो (तस्बिर सहित)

पानी घटेपछिको फेवातालमा रमाउँदै । सबै तस्बिरः उमेश पुन

मुख्य ड्याम मर्मतसम्भारका लागि पानीको सतह घटाउँदा यो बेला फेवाताल विरुप बनेको छ । चारदशकपछि ड्याम मर्मत गर्न पानी घटाउँदा तालको पानीको सतह स्वात्तै घटेको देखिएको छ । पानी घटेको त्यही ताल हेर्न अहिले दिनहुँ पोखरेली फेवाताल पुग्ने गरेका छन् ।  

बाहिरबाट झट्ट हेर्दा तालको पानी आधा घटेजस्तो देखिन्छ । यसअघि डुंगा चढ्दै आएको ठाउँ पनि निकै नै पर पुगेको छ । त्यसले गर्दा तालको सुख्खा क्षेत्रमा पुगेर रमाउने, टिकटक बनाउने, सेल्फी खिच्नेको भीडभाड देखिन्छ । बालबच्चादेखि वृद्धवृद्धासम्म ताल हेर्न पुगेका छन् । पानीको सतह घटेकोले तालको परैसम्म पुग्न पाइने भएकोले युवायुवती टिकटक बनाउन व्यस्त देखिन्छन् ।  

बिहान र दिउँसो भन्दा बेलुकीपख ताल क्षेत्रमा घुम्न पुग्नेको भीडभाड देखिन्छ । अरुबेला पानीका कारण जान नसकिने भएकोले पनि अहिले तालको परैसम्म पुगेर रमाईरहेका युवायुवती प्रयाप्त देखिन्छन् । तालको पानी घट्दा रुप पनि बिग्रेको छ । सिरान क्षेत्रबाट बगेर आएको ढुंगा, माटो, गिट्टीले ताल पुरिँदै जाँदाको वास्तविक रुप यो बेला पानी घटेको मौकामा देख्न पाइन्छ । अरुबेला डुंगा सयर गर्दा तालको गहिराई कति थियो भन्ने आँकलन गर्न पनि मुस्किल हुन्थ्यो, तर, अहिले भने पानी घटेको क्षेत्रको गहिराई पनि स्पष्ट देखिएको छ ।  

त्यत्तिमात्र नभई तालभित्रको ढुंगा, माटो पनि देख्न पाइएको छ । पानीले भरिएको तालमा गडेका तिखे ढुंगा पनि अहिले सतहमै भेटिन्छन । तालमा थुप्रिएको ढुंगा, माटो निकाल्नका लागि पोखरेलीले दवाव पनि दिँदै आएका छन् । पर्यटन व्यवसायीले तालमा पानी कम भएको अवस्थामा माटो निकाल्न सक्ने हो भने तालको आयु बढाउन सकिने बताउँदै आएका छन् ।

खुशी 18.5%
दुखी 37%
अचम्मित 11.1%
हास्यास्पद 18.5%
क्रोधित 14.8%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App