आजको भाग दौडमा साँचो खुसी पाउन गाह्रो छ। साना-साना कुराले पनि हाम्रो मन बिगार्छ। तर हामीले हाम्रो बानी र व्यवहारमा सामान्य परिवर्तन गर्न सक्यौ भने खुसी टाढा छैन। सामान्य पाँच सजिला बानीले तपाईंको जीवनमा खुसी दिन्छ।
१. हरेक दिन कृतज्ञ रहनुस्
बिहान उठेर वा राति सुत्नुअघि सानो होस् वा ठुलो तीन वटा कुरा लेख्नुस्, जसका लागि तपाईं कृतज्ञ हुनुहुन्छ। तीन तीन कुरामा (परिवारको साथ, खानाको गाँस, छतमाथिको आकाश) हुन्। यो सानो बानीले दिमागमा नकारात्मक सोच आउनै दिँदैन, मन सधैँ हलुका र खुसी रहन्छ।
२. वर्तमानमा जिउनुस्
के हिजोको गल्ती वा भोलिको डरले सताइरहेको छ ? दुवै छोडिदिनुस्। चिया पिउँदै हुनुहुन्छ भने चियाको स्वाद लिनुस्, हिँड्दै हुनुहुन्छ भने हावाको स्पर्श महसुस गर्नुस्। जब तपाईं ‘वर्तमान’ मा जिउनुहुन्छ, तनाव र चिन्ता आफैँ भाग्छन् र खुसी आफैँ आउँछ।
३. तुलना गर्ने बानी त्याग्नुस्
अरूको सामाजिक सञ्जाल हेरेर ‘म किन यस्तो छैन?’ भनेर आफैँलाई गाली गर्न बन्द गर्नुस्। तपाईंको जीवन तपाईंकै कथा हो, अरूको होइन। अरूले देखाएको चम्किलो जीवनको पछाडि पनि दुःख लुकेको हुन्छ। आफूलाई जस्तो छ त्यस्तै स्वीकार गर्नुस्, यो बानीले आधाभन्दा बढी दुःख एक छिनमा हराउँछ।
४. सहयोग गर्नुस्
बाटोमा हिँड्ने असहाय, दुःखी, बालबालिका, वृद्ध वृद्धासहित खाँचो परेकालाई सधैँ सानै भए पनि सहयोग गर्नुस्। घरको काममा आमालाई साथ दिनुस्। साथीलाई माया देखाएर याद गर्नुस्, फोन गर्नुस्। जति सानो सहयोग गरे पनि, त्यसले तपाईंको मनमा ठुलो खुसी भरिदिन्छ। सहयोग गर्दा मिल्ने खुसी कुनै पैसाले किन्न सक्दैन। भनिन्छ, अरूलाई खुसी पार्नेले आफैँ सबैभन्दा बढी खुसी पाउँछ।
५. आफैँलाई पहिलो प्राथमिकता दिनुस्
राम्रोसँग सुत्नुस्, बिहान अलि चाँडै उठेर हिँड्नुस्। मन पर्ने गीत सुन्नुस्, किताब पढ्नुस्, नाच्नुस्, जे मन लाग्छ त्यो गर्नुस्। आफ्नो शरीर र दिमागलाई माया नदिनेले अरूलाई पनि खुसी दिन सक्दैन। जब तपाईं आफैँसँग खुसी हुन सिक्नुहुन्छ, संसार आफैँ सुन्दर देखिन थाल्छ।
यी पाँच सजिला बानी आजैबाट सुरु गर्नुस्। तपाईं आफैँलाई चिन्नुहुनेछ, किनभने खुसी तपाईंसँगै छ।
अन्त्यमा माथि उल्लेख गरिएको सुझावसहितको सामग्री सामान्य जानकारीका लागि मात्रै हो। यदि तपाईं माथि उल्लेख गरिएका कुनै पनि समस्यासँग जुधिरहनु भएको छ भने थप जानकारीको लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस्।
प्रकाशित: ८ मंसिर २०८२ १२:०३ सोमबार





