१ वैशाख २०८३ मंगलबार
image/svg+xml
अन्य

नइबाट प्राध्यापक सम्मेलनको आरम्भ

विगत दश वर्षदेखिको प्रतीक्षारत ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ काठमाडौँमा प्रारम्भ भएको छ।

सम्मेलनका प्रमुख अतिथि महासमालोचक प्राडा वासुदेव त्रिपाठीले नेपाल तथा भारतका २७ जना प्राज्ञलाई सम्मेलनको प्रतीक चिन्ह र सम्मेलनबारेका कृतिहरू प्रदान गरेर तीनदिने सम्मेलनको शुभारम्भ गरे। २०३१ सालमा प्राडा वासुदेव त्रिपाठीले नेपाली भाषासाहित्यमा सर्वप्रथम विद्यावारिधि गरेका थिए। उनकै प्राज्ञिक नेतृत्वमा यो सम्मेलन हुँदै छ।

यस सम्मेलनमा नेपाल तथा भारतका विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गरेका प्राध्यापकहरूको सहभागिता रहेको छ।

नेपाली भाषासाहित्यको विकास र विस्तारबारे अध्ययन हुन बाँकी पक्षहरूका साथै उच्च शिक्षाका कतिपय अनिर्णीत रहेका समेत सवालहरूको परिपूर्तिका निम्ति नइले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को आयोजना गर्नुपरेको कुलपति इन्दिरा प्रसाईले बताए।

सम्मेलनमा उच्च शिक्षामा नेपाली भाषासाहित्यको अध्यापन तथा अनुसन्धान गरिने भारतका तेह्रवटा विश्वविद्यालय र नेपालका छवटा विश्वविद्यालयका दस्तावेज प्रस्तुत गरिने छन्।

नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईकाे अनुसार सम्मेलनको पहिलो दिन सहभागी प्राज्ञहरूले आआफ्ना विश्वविद्यालयबारे चर्चा गरे।

नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित त्रिदिवसीय सम्मेलनको प्रथम दिनको समारोहमा महासमालोचक प्राडा वासुदेव त्रिपाठी, प्राडा चूडामणि बन्धु, प्राडा दयाराम श्रेष्ठ, प्राडा दिवाकर प्रधान, प्राडा कविता लामा, सल्लाहकार प्रा. केशव सुवेदी, सम्मेलनका संयोजक प्राडा महादेव अवस्थी, सदस्यसचिव नरेन्द्रराज प्रसाई लगायत नेपाल तथा भारतका विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने पच्चिस जना प्रतिनिधि प्राज्ञहरूले आआफ्नो मन्तव्य प्रकट गरेका छन्।

प्रकाशित: २८ चैत्र २०८२ १४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App