मंसिर महिना चलिरहँदा बिहेको सिजन जारी छ। दाइजोका कारण धेरै स्थानमा दुर्व्यवहारका घटनाहरू हुने गर्छन्। तर कहिलेकाहीँ यसको विपरीत उदाहरण पनि देखिन्छन्।
भारतको उत्तर प्रदेशको मुजफ्फरनगर नजिकै पर्ने नागवा गाउँका अवधेश राणाले झन्डै आधा करोड नेपाली रुपैयाँ बराबरको दाइजो लिन अस्वीकार गरेर उदाहरण प्रस्तुत गरेका छन्।
नोभेम्बर २२ मा भएको उनको विवाहमा दुलही पक्षले तिलक समारोहमा थालमा सजाएर ३१ लाख भारतीय रुपैयाँ (झन्डै ५० लाख नेपाली रुपैयाँ) दाइजोको रूपमा प्रस्ताव गरेका थिए। तर अवधेश राणा र उनका परिवारले यो रकम अस्वीकार गर्यो। उनले हात जोडेर एक रुपैयाँ मात्र लिए।
अवधेशका बुबा हरवीर सिंहले विवाहको कुरा चल्दादेखि नै दाइजो नलिने कुरा स्पष्ट गरेका थिए। अवधेशले भने, ‘दाइजो प्रथा धेरै खराब छ। यसलाई पूर्ण रूपमा बन्द गर्नुपर्छ।’ उनले युवाहरूलाई दाइजोबिना विवाह गर्न अपिल गरेका छन्। उनका अनुसार दाइजोका कारण अभिभावकहरूले ऋण लिनुपर्छ र जग्गा बेच्नुपर्ने अवस्था आउँछ।
अवधेशको परिवारसँग लगभग दुई सय बिघा कृषियोग्य जमिन छ। उनले दिल्लीको एआईईईई कलेजबाट एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियरिङको अध्ययन गरेका छन्। अहिले उनी आफ्ना दाइसँग मिलेर पतञ्जलिका उत्पादनको वितरणको काम गरिरहेका छन्।
दाइजो अस्वीकार गर्ने निर्णयबारे उनले भने, ‘यो मेरो एक्लैको निर्णय होइन, सम्पूर्ण परिवारको सामूहिक निर्णय हो। जब विवाहलाई अन्तिम रूप दिइँदै थियो, मेरा बुबाले यो एक रुपैयाँको सम्झौता हो भनेर स्पष्ट पार्नुभयो।’
प्रकाशित: १४ मंसिर २०८२ ०९:०४ आइतबार





