१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

२२ लाखको चिनियाँ सामानसहित चालक पक्राउ

बिलबिजक तथा भन्सार प्रज्ञापनपत्र नभएको चिनियाँ किराना सामानसहित सशस्त्र प्रहरी बलले एक जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, नायब महानिरीक्षक मनिष थापाले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–४ स्थित बाह्रबिसेबाट एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिए।

सोही जिल्लाको बाह्रबिसे नगरपालिका–६ बस्ने शिवलाल तामाङलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लामोसाँघुबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो।

तातोपानीबाट खाडिचौरतर्फ आउँदै गरेको बा ४ ख ५८६४ नम्बरको आइचर गाडीमा राखी ल्याउँदै गरेको सामानको बिलबिजक तथा भन्सार प्रज्ञापनपत्रसमेत फेला नपरेपछि सो गाडीका चालक तामाङलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकले आज जानकारी दिएको हो।

नियन्त्रणमा लिइएका सामान स्टेसनरी, खेलकुद तथा किरानालगायतका सामान रहेका छन्। बरामद सामानको अन्दाजी मूल्य सात लाख २२ हजार १० रुपैयाँ र गाडीको १५ लाख मूल्यसहित जम्मा मूल्य २२ लाख २२ हजार १० रुपैयाँ रहेको छ।

नियन्त्रणमा लिइएका तामाङलाई बरामद सामान तथा गाडीसहित आवश्यक कारबाहीको लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाउने प्रक्रियामा रहेको पनि थापाले जानकारी दिए।

प्रकाशित: १ पुस २०८२ १४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App