हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले बताएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिइएको छ।
प्रकाशित: २३ चैत्र २०८२ ०६:४६ सोमबार





