१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

प्रतिबन्धका बीच पोखरामा नदीजन्य पदार्थको अवैध उत्खनन, तीन टिप्पर नियन्त्रणमा

कास्कीमा वर्षायामभर नदी तथा खानीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को उत्खनन र ओसारपसारमा प्रतिबन्ध रहे पनि पोखरामा अवैध उत्खनन रोकिएको छैन। नियमित अनुगमनको अभावमा विशेषगरी सेती नदी क्षेत्रमा अवैध रूपमा बालुवा उत्खनन भइरहेको पाइएको छ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको संयोजकत्वमा रहेको जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिले असार १ गतेदेखि भदौ मसान्तसम्म तीन महिनाका लागि नदी तथा खानीजन्य पदार्थ उत्खनन र ओसारपसारमा रोक लगाएको छ।

यसबीच कास्की प्रहरीले पोखरा–२५ हेम्जास्थित सेती नदीबाट अवैध रूपमा बालुवा उत्खनन गरिरहेका तीन टिप्पर नियन्त्रणमा लिएको छ। कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र पासवानका अनुसार पोखरा–१९ लामाचौरका सुजन गुरुङले चलाएको ग.१ क. ४४७२, सिम्पानीका विकास घर्तीले चलाएको जिएए ००७६ र याम्दीका राजु मगरले चलाएको जिएए ०१२४ नम्बरका टिप्परलाई सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बगरको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएका टिप्परलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकामा पठाएको थियो। महानगरपालिकाले भने अवैध उत्खननमा संलग्न तीनवटै सवारीसाधन र तिनका सञ्चालकलाई जनही १५ हजार रुपैयाँ जरिवाना गरी छाडेको जनाएको छ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिका अध्यक्ष लीलाधर पौडेलले प्रतिबन्धका बेला जानाजान राति अवैध उत्खनन गर्नेहरूलाई सामान्य जरिवाना गरेर छाड्नु गम्भीर लापरबाही भएको टिप्पणी गरे। पक्राउ परेका व्यक्तिबारे जिल्ला समन्वय समितिलाई जानकारी नै नदिई महानगरले एकपक्षीय रूपमा कारबाही गरेको भन्दै उनले आपत्ति जनाएका छन्।

 

प्रकाशित: ३१ असार २०८३ २०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App