वीरगञ्ज– पर्सा बन्यजन्तु आरक्षको भित्री बाटो भएर मकवानपुरबाट ल्याइएको साढे ४ क्विन्टल प्रतिबन्धित लागू पदार्थ गाँजासहित नेपाली सेनाले ३ जना भरिया तस्करलाई समातेर प्रहरीको जिम्मा लगाएको छ।

पर्सामा गाँजा उत्पादन रोकिए पनि माकवानपुर र चितवनबाट गाँजा ओसारेर भारततर्फ लैजाने ट्रान्जिटको रुपमा तस्करले आरक्षको बाटो हुँदै जिल्लाको ग्रामीण क्षेत्रलाई प्रयोग गर्दै आएका छन्। मुख्य तस्करले भरियाको रुपमा प्रयोग गरेका माकवानपुर काँकडा –२ का ४५ बर्षे चन्दबहादु लोप्चन, सोही ठाउँ बस्ने ४६ वर्षीय गुणबहादुर चितुङ र मनहरी –२ का ३० वर्षिय पूर्णबहादुर ब्लोनलाई हिरासतमा राखी लागू औषध ओसारपसारको मुद्दामा अनुसनधान अगाडी बढाइएको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए। आरक्षको सेना टोलीले प्रहरीलाई गाँजा र आरोपीहरु बुझाउदै दिएको प्रतिवेदनमा २४ जना तस्कर समुहले लैजाँदै गरेको २१ पोकामा रहेको गाँजा सोनवर्षा गाविस ९ मा पर्ने आरक्ष क्षेत्रभित्रैबाट बरामद गरेको उल्लेख गरिएको छ।
आरक्ष क्षेत्रभित्र लुकाएर राखिएको माकवानपुरको मनहरीबाट ल्याइएको गाँजा पटेर्वा सुगौलीको बाटो हुँदै भारततर्फ लैजान लागेको सूचना पाएर पुगेको गस्ती टोलीले लखेटर गाँजा र तस्कर नियन्त्रणमा लिएको आरक्षको सेनाले जनाएको छ। सेनाको टोलीले लखेटेपछि हातहतियारसहित रहेका तस्करले गाँजाको पोका फालेर भाग्न लाग्दा ३ जना सामातिएका थिए। बुधबारको घटनामा बरामद गाँजा र पक्राउ परेका तस्कर सेनाले बिहीबार प्रहरीको जिम्मा लगाएको हो।
पर्सा जिल्लामा आर्थिक वर्ष २०७१÷०७२ मा १ हजार ६ सय १३ किलो गाँजा बरामद भएको थियो। यसमध्ये ९० प्रतिशत गाँजा माकवानपुरबाट ल्याउँदै गर्दा बरामद भएका थिए।
प्रकाशित: २९ श्रावण २०७२ ०२:४६ शुक्रबार





