१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

सुपारी तस्करीको सेटिङ : अवैध निकासीलाई फर्जी तथ्यांक

विराटनगर- पूर्वी नेपालमा घरको शोभा बढाउन र हरियाली राख्न सुपारी रोप्ने चलन छ। व्यक्तिगत प्रयोजनले यसरी रोपिएका सुपारीका एकादुई बोटलाई देखाएर आयात–निर्यातकर्ताले भने आफ्नो खल्ती भर्ने गरेको पाइएको छ।
झापा, मोरङ र इलामका घरहरूमा रोपिएका एकदुई बोट सुपारीलाई हेक्टरमा देखाएर भजाइरहेको तथ्य कृषि कार्यालयले नै सार्वजनिक गरेको छ। क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका सहायक निर्देशक मदन श्रेष्ठले घरमा रोपिएका एकदुई बोट सुपारीलाई पनि हेक्टरमा जोडेर कृषि मन्त्रालयलाई तथ्यांक पठाइएको जानकारी दिए। कोसी फलफूल खेती प्रवर्द्धन विकास संस्थाले सोमबार विराटनगरमा आयोजना गरेको सुपारी खेतीको सम्भावना र चुनौती विषयक अन्तर्क्रियामा श्रेष्ठले भने, 'घरमा हरियाली र शोभा बढाउन रोपिएको एक–दुईवटा सुपारीका बोटलाई हेक्टरमा गणना गरिएको पाइएको छ।'

स्रोतअनुसार उत्पादन बढेको देखाएर पूर्वी नेपालमा सेटिङमै तेस्रो मुलुकबाट आयात हुने सुपारी भारत निकासी हुन्छ। किसानबाट सुपारी उत्पादनको तथ्यांक पाएपछि जिल्लास्थित कृषि कार्यालयले कृषि मन्त्रालयलाई पत्राचार गर्छन्। मन्त्रालयले सुपारी भारत निकासीका लागि आपूर्ति मन्त्रालयलाई पत्र लेख्छ। स्थानीय उद्योग वाणिज्य संघले उत्पत्तिको प्रमाणपत्र जारी गरेपछि नेपालको उत्पादन भन्दै तेस्रो मुलुकको सुपारी भारत निकासी हुन्छ।

स्रोतका अनुसार पूर्वी नेपालमा बर्सेनि सुपारी उत्पादन बढेको तथ्यांकमा देखाइन्छ। त्यसको कारण एउटै छ– तेस्रो मुलुकको सुपारी भारत तस्करी गर्नु र अकुत धन कमाउनु।

'घरमा हुर्काइएको एक–दुई बोटलाई समेत हेक्टरमा देखाएर उत्पादन बढेको देखाउनुको कारण सुपारी अवैध निकासीसँगै जोडिएको हो,' स्रोतले भने, 'सुपारी रोपिएको क्षेत्रफल र उत्पादन हरेक वर्ष बढाइएको पाइन्छ।' मोरङ जिल्लाकै पाँच वर्षयताको तथ्यांकमा हरेक वर्ष सुपारी खेतीको क्षेत्रफल र उत्पादन 'अचाक्ली' बढेको देखिन्छ।

आर्थिक वर्ष ०६४/०६५ देखि ०७१/०७२ को तथ्यांक हेर्दा सुपारी खेती हुने क्षेत्रफल र उत्पादन हरेक वर्ष दोब्बरले वृद्धि भएको पाइन्छ। मोरङमा आर्थिक वर्ष ०६४/०६५ मा २० हेक्टरमा सुपारी खेती हुन्थ्यो, जहाँबाट वार्षिक २९ मेटि्रकटन सुक्खा सुपारी उत्पादन भएको तथ्यांक छ। आर्थिक वर्ष ०६५/०६६ मा ३१ हेक्टर जग्गामा लगाइएको सुपारी खेतीबाट ४६ मेटि्रकटन सुपारी उत्पादन भएको थियो। त्यसपछिको आर्थिक वर्षको सुपारी खेतीको क्षेत्रफल र उत्पादन आश्चर्यजनक रूपमा बढेको देखाइएको छ। आर्थिक वर्ष ०६६/०६७ मा मोरङमा १ सय ९८ हेक्टर जग्गामा सुपारी खेती भएको र ३ सय १७ मेटि्रकटन सुपारी उत्पादन भएको तथ्यांक छ। आर्थिक वर्ष ०६७/०६८ मा ५ सय १४ हेक्टर जग्गामा खेती भएको र ९ सय ५१ मेटि्रकटन सुपारी उत्पादन भएको कृषि मन्त्रालयकै तथ्यांक छ। एकै वर्षमा सुपारी खेती हुने क्षेत्रफल ३ सय १६ हेक्टर बढेको र उत्पादन ६ सय ३४ मेटि्रकटन बढेको देखाइएको छ।

०६८ देखि ०७१ सम्मको तीन आर्थिक वर्षमा सुपारी खेतीको क्षेत्रफल ८ सय १ हेक्टर मात्रै देखाइए पनि उत्पादन वर्र्षैपिच्छे फरक–फरक छ। ०६८/०६९ मा १ हजार ३ सय २६ मेटि्रकटन उत्पादन भएको देखाइएको छ। जबकि, त्यति नै क्षेत्रफल भनिए पनि ०६९/०७० मा सुपारीको उत्पादन २ हजार ४१ मेटि्रकटन उत्पादन भएको थियो। आर्थिक वर्ष ०७०/०७१ मा ८०१ हेक्टरमै गरिएको सुपारी खेतीबाट ८ सय मेटि्रकटन उत्पादन बढेर २ हजार ८ सय ५४ मेटि्रकटन पुगेको देखाइएको छ। सुपारी कृषक कृष्णप्रसाद भण्डारीका अनुसार एक हेक्टरमा सुपारीका १ हजार ३ सय ७० बोट हुन्छ। एउटा बोटबाट सरदर ४ देखि ४० किलोसम्म उत्पादन हुन्छ। नेपालमा रोपिने सुपारीको बोटले पाँच वर्षपछि मात्रै फल दिन्छ।

कृषि कार्यालयका बागवानी अधिकृत काशी चौधरीका अनुसार पूर्वी नेपालमा पाँच वर्ष अघिसम्म सुपारी सोखको रूपमा मात्रै रोप्ने चलन थियो। व्यावसायिक खेती त त्यसपछि मात्रै भएको हो।

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष मुकेश उपाध्यायले उत्पत्तिको प्रमाणपत्र जारी गर्न गत वर्ष संगठनमा प्राप्त सुपारी उत्पादनको तथ्यांकले आश्चर्यमा पारेको सुनाए। 'चार सय–पाँच सय मेटि्रकटन सुपारी उत्पादन भएको थाहा थियो,' उपाध्यायले भने, 'गत वर्ष २ हजार ८ सय ५४ मेटि्रकटन उत्पादन भएको तथ्यांक आयो, हामी छक्क पर्यौं ।' उपाध्यायका अनुसार प्राविधिकसहितको टोली लिएर अनुगमन गरेपछि मात्रै उत्पत्तिको प्रमाणपत्रका लागि सिफारिस गरिएको थियो।

चालू आव १० महिनामा मात्रै तेस्रो मुलुकबाट २९ हजार मेटि्रकटन सुपारी आयात भएको छ। ३ अर्ब रुपैयाँको सुपारी आयात भएको छ जसमा नेपालको उत्पादन भन्दै १ अर्ब ४० करोड रुपैयाँबराबरको सुपारी भारत निकासी भएको छ। गत वर्ष ६८ हजार मेटि्रकटन सुपारी तेस्रो मुलुकबाट आयात भएको थियो। व्यवसायीका अनुसार नेपालमा बर्सेनि ३५ हजार मेटि्रकटन सुपारी खपत हुन्छ। नेपालमा वार्षिक १० देखि १२ हजार मेटि्रकटन मात्र उत्पादन हुन्छ।

पानपराग, गुट्खालगायत उत्पादनका लागि भारतमा सुपारीको माग उच्च छ। भारत सरकारले विदेशी सुपारीको आयातमा १ सय १३ प्रतिशतसम्म भन्सार शुल्क तोकेपछि सोझै आयात गर्दा महँगो पर्छ। कृषिजन्य उत्पादनको सूचीमा पर्ने नेपालमा उत्पादित सुपारी भारत निकासी गर्न भने १३ प्रतिशत शुल्क तिरे पुग्छ। यही सुविधा दुरुपयोग गर्दै नेपाल र भारतका तस्करले तेस्रो मुलुकबाट भारत हुँदै नेपाल आयात गरिएको सुपारी फेरि भारतीय बजारमै पुर्यानउँछन्।

प्रकाशित: २८ असार २०७२ २३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App