पुरातत्व विभागका प्रवक्ता राम कुँवर भन्छन्, 'भूकम्पपछि पहिलो चरणको काममै छौं। पुनर्निर्माण सुरु भइसकेको छैन। यसका लागि पहिलो आधार त बजेट नै हो।' पहिलो चरणमा टेको लगाउने, बाँकी रहेका सम्पदा जोगाउन पाल लगाउने, जस्तापाता राख्ने काम भइरहेको छ।
भक्तपुरमात्र होइन, हनुमानढोका, स्वम्यभू, चाँगुनारायण, पाटन, गोरखा, नुवाकोट, दोलखामा रहेका सम्पदा संरक्षणका लागि टेको, त्रिपाल लगाउने, लगत उठाउने काम भइरहेको छ। भत्किएका ठाउँबाट पुनः प्रयोग हुन सक्ने सामग्री निकालिएका छन्। 'पहिलो प्राथमिकतामा बाँकी रहेका सम्पदा सुरक्षित राख्नु चुनौती छ,' प्रवक्ता कुँवर भन्छन्, 'त्यसपछि बल्ल पुनर्निर्माणका कामलाई अगाडि बढाउनेछौं।'
उनले भनेजस्तै भुइँचालोबाट बचेका सम्पदा जोगाउन निकै चुनौती देखिन्छ। भक्तपुर दरबार स्क्वायरमा रहेको संग्रहालयबाहिरबाट टेको लगाइँदै छ। भित्र चारैतिर चर्केको छ, जहाँ महŒवपूर्ण सम्पदा रहेका छन्। शिवदेव र अंशुवर्माका पाला (विसं ५१६) का लिच्छवि लिपि र १ सय ८९ अभिलेख त्यहाँ रहेका छन्। दसौं शताब्दीमा बनाइएको ताराको मूर्ति तथा शिव र विष्णु अर्थात् हरिहरको मूर्ति पनि यहीँ छ। बर्सातको समय भएकाले धार्मिक र सांस्कृतिक महत्वका यस्ता सम्पदा जोगाउन गाह्रो छ। तत्कालै पुनर्निर्माणका लागि बजेट नभएकाले सामग्री सुरक्षित राख्न निकै समस्या भइरहेको राष्ट्रिय कला संग्राहलय भक्तपुरकी प्रमुख अरुणा नकर्मी बताउँछिन्।
'संग्रहालयमा टेकोमात्र लगाएका छौं। भित्र जान सक्ने अवस्था छैन,' उनी भन्छिन्, 'तुरुन्तै सामान सार्नका लागि ठाउँको अभाव छ।' उनका अनुसार आगामी वर्षदेखि संग्रहालय बनाउन सुरु हुनेछ। त्यसैका लागि यहाँका सामान सुरक्षित राख्न ठाउँको खोजी भइरहेको उनी बताउँछिन्।
भक्तपुर दरबार स्क्वायर क्षेत्रमा दैनिक आठ सय बढी पर्यटक पुग्थे। अहिले दैनिक ५० जनासम्म पुग्ने गरेका छन्। भुइँचालोपछि सबै स्थान भत्केका पनि होइनन्। सम्पदा वरिपरिका घर धरापमा रहँदा भने पर्यटकहरू अफ्ठ्यारो मानिरहेका छन्। बाटोमा जथाभावी राखिएका ढुंगामाटोले पनि आवतजावतमा समस्या छ।
दरबार स्क्वायर परिसरमा १९९० सालपछि बनाइएको च्यासिङ्देव (आठ कुने) मन्दिर भने सुरक्षित छ। जर्मन प्रोजेक्टले पुननिर्माण गरेको मन्दिरमा आधुनिक सामग्री राखिएका छन्। अबको पुनर्निर्माणमा आधुनिक बलिया सामग्री प्रयोग गर्ने कि नगर्ने? छलफलको विषय बन्न सक्छ।
तलेजु मन्दिर मूलचोकका भित्ताभरि भित्ते चित्र, काठका चित्र राखिएका छन्। ती चित्र जीर्ण अवस्थामा छन्। कुनै मेटिन लागेका छन् भने कतिपय काठका मूर्ति कुहिने अवस्थामा पुगेका छन्। भक्तपुरको सबैभन्दा पुरानो र आकर्षक तलेजु मन्दिरका सम्पदा जोगाउनमा ध्यान नदिएको स्पष्ट देखिन्छ। भित्तेचित्र मेटिन लागेका देखिन्छन्। अन्य भत्किएका मन्दिरका कलाकृति, मूर्तिहरू एउटा कुनामा फालिएका छन्। ती सामान हेर्दा लाग्छ, हामी परम्परागत सम्पदाका धनी छौं तर राम्रोसँग जोगाउन सकेका छैनौं।
'समय लाग्छ'
पुरातत्व विभागले २० जिल्लाका सम्पदा पुनर्निर्माणका लागि ७ देखि १० अर्ब रुपैयाँ अनुमानित बजेट प्रस्ताव गरेको छ। पुनर्निर्माण गर्न ५ देखि ७ वर्ष लाग्ने बताइएको छ।
पूर्ण रूपमा क्षतिग्रस्त मन्दिरका सामान भित्र राखिएका छन्। ती सामान केही भाँचिएका, टुटफुट भएका देखिन्छन्। कतिपय मन्दिर बाहिरबाट सद्दे देखिन्छन्, तर भित्रपट्टि क्षति भएकाले पहिले मर्मतसम्भारमै ध्यान दिनुपर्ने देखिन्छ।
देशका २० जिल्लामा पूर्ण र आंशिक गरी ७ सय २१ सम्पदामा क्षति पुगेको पुरातŒव विभागको तथ्यांक छ। पूर्ण रूपमा १ सय ३३ सम्पदा भत्केका छन्। आंशिक ९५ वटा क्षतिग्रस्त छन्। ५ सय १३ वटामा सामान्य क्षति पुगेको छ। त्यसमध्ये सबैभन्दा बढी काठमाडौंमा क्षति पुगेको छ।
कतिपय सम्पदा बोकेका घर पनि भत्केका छन् । तिनीहरूलाई राम्रोसँग जोगाउन नसकिएको गुनासो गर्छन्, संरक्षणविद् रवीन्द्र पुरी। 'घर भत्किए पनि ‰यालढोका पुनः प्रयोग गर्न सकिन्छ। जोगाउनपट्टि ध्यान दिएको देखिँदैन,' उनले भने। भक्तपुर गछेमा पुरीकै नाममा रहेको फाउन्डेसन फर कन्जर्भेसनले १० वटा मल्लकालीन घरका ‰यालढोका जोगाएर राख्न सहयोग पुर्या एको थियो। पानीबाट जोगाउन सकियो भने फेरि प्रयोग गर्न सकिन्छ। तर, त्यसमा नगरपालिकाले ध्यान दिन सकेको छैन।
भत्केका घरका समेत ‰याल, ढोका लगायतका सामग्री जोगाउन सके नयाँ निर्माणमा खर्च कम हुने आँकलन गर्छन्, संरक्षणविद् पुरी। 'सामग्री सुरक्षित स्थानमा राखेर पुनर्निर्माणको योजना बनाउनुपर्छ,' उनको सुझाव छ, 'नयाँ कालिगडलाई तालिम दिन सके रोजगारीको अवसर पनि सिर्जना हुन्छ।' उपत्यकाका प्रमुख दरबार स्क्वायरहरूमा वर्षायाम सकिनासाथ भौतिक पुनर्निर्माण गरे सहज हुने बताउँछन्, उनी। 'यहाँ कालिगडको समस्या छैन,' उनले थपे, 'तर, भत्केका सम्पदालाई पुरानै शैलीशिल्पका आधारमा बनाए पहिचान कायमै रहन्छ।'
पुरातŒव विभागका प्रमुख भेषनारायण दाहाल पनि पुरीसँग सहमत छन्। 'सकेसम्म पुरानै वस्तु समेटेर जस्ताको तस्तै शैलीमा निर्माण गर्नेछौं,' उनी भन्छन्, 'पुर्खाले हामीलाई हस्तान्तरण गरेको सम्पदाको कलात्मकता परिवर्तन नगरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने कुरा बिर्सनुहुन्न।'
भक्तपुर नगरपालिका प्रमुख उद्धवप्रसाद रिजाल भने अलि फरक विचार राख्छन्। 'भुइँचालोले थेग्ने खालको संरचना निर्माण गर्दा हुबहु पुरानै कलामात्रै फलो गर्नुपर्छ भन्ने छैन,' उनले भने, 'सम्पदाको बाहिरी संरचना पुरानै बनावटअनुसार बनाए पनि भित्रपट्टि फलाम, स्टिल वा प्राविधिक रूपमा मजबुत सामग्री प्रयोग गरियो भने भुइँचालोले हतपती असर गर्न सक्दैन।'
सम्पदा र जीवनपद्धति
धेरै सम्पदाहरू स्थानीयको जीवनपद्धतिसँग जोडिएका छन्। स्थानीयवासीकै पहलमा संरक्षण पनि भइरहेको छ। पाटन दरबार स्क्वायर क्षेत्रमा त स्थानीयहरू खुबै जुटेका थिए।
'सम्पदासँगको सम्बन्ध युगौंदेखि चल्दै आएको छ। भौतिकमात्र होइन, मानवीय जीवन–आस्था यसमा जोडिएको छ,' कलाकार लोक चित्रकार भन्छन्, 'पुनर्निर्र्माणको सबैभन्दा महŒवपूर्ण पाटो शिल्पी हो। सिप विकासका लागि अहिलेदेखि नै लाग्नुपर्छ।'
आफूहरू जस्तै अर्धदक्ष कलाकार, नयाँ कालिगड, सिकर्मी, डकर्मीलाई सिनियर कलाकर्मीमार्फत तालिम दिनुपर्ने उनको भनाइ छ। 'सम्पदा पुनर्निर्माणमात्र होइन, हामी रोजगारी समेत सिर्जना गर्दै छौं,' उनले भने।
पाटनमा दिलेन्द्रराज श्रेष्ठले भुइँचालोको समयमा भत्केका मूर्तिको उद्धार गरेका थिए। उनले मानिसलाई जस्तै त्यहाँ पुरिएका मूर्ति भग्नावशेषबाट निकालेका थिए। १९९० सालको भुइँचालोमा पाटनको मन्दिर पूरै ध्वस्त भएको थियो। त्यति बेला मन्दिरका सामान चोरी हुँदा नयाँ बनाउनुपरेको थियो। इतिहास चोरी हुँदा सम्पदाहरू हराउन सक्छन्। त्यसैले तत्काल संरक्षणमा स्थानीय जुटेका थिए। उनीहरूले कुँदिएका बुट्टा, काठ, मूर्ति संरक्षण गरेर राखेका छन्।
नेपाल घुम्न आऊ
हिजोआज पर्यटकको आगमन एकदमै थोरै छ। काठमाडौं दरबार स्क्वायर लगायतका सम्पदा क्षेत्रमा पर्यटकलाई आकर्षण गर्नुपर्ने पर्यटन बोर्डका सञ्चार सल्लाहकार शरद प्रधानको जोड छ। चाँगुनारायण र बौद्ध पुनर्निर्माणको क्रममा छ। आएका पर्यटकलाई सहुलियत दिएर आकर्षणका कार्यक्रम गर्न बोर्ड लागिपरेको छ।
'विदेशीलाई नेपाल आऊ, घुम्ने ठाउँ पूरै ध्वस्त भएको छैन भनेर सकारात्मक सन्देश दिन सक्नुपर्छ,' उनी भन्छन्, 'यसका साथै पर्यटकलाई सुरक्षित महसुस गराउन नगरपालिका र पुरातŒव विभागले एकीकृत रूपमा काम गर्नुपर्छ।'
पुनर्निर्माण सुरु भइनसकेकोले बाहिरी संरचनाका लागिमात्र पर्यटकलाई खुला गरिएको छ। भुइँचालोले बिगारेको छरपस्ट संरचना सुधार गर्नुपर्छ। वरिपरिका धरापमा रहेका घर पन्छाउने काम तुरुन्तै गर्नुपर्ने देखिन्छ। हाम्रा कतिपय धरोहर सुरक्षित छन्, ती क्षेत्रमा पर्यटक पुर्यााउन आवश्यक छ।
प्रकाशित: २५ असार २०७२ २२:४९ शुक्रबार





